विराटनगर । विभिन्न आपराधिक पृष्ठभूमिमा पक्राउ पर्दै आएका अभिषेक गिरी विराटनगर विमानस्थलबाट आज साँझ फेरी पक्राउ परेका छन् । उनी काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७ः ५ बजेतिर विराटनगर ओर्लिएका थिए ।
विमानस्थलमा ओर्लनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरी टोली विराटनगर विमानस्थलमा पुगेको थियो । पक्राउ परेका गिरीमाथि आपराधिक लाभको कसुरमा थप अनुसन्धान अघि बढाइने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
कटवालका अनुसार गिरीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ अनुमति लिईसकेको जनाइएको छ । अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याईने भएको छ ।
गिरीलाई काठमाडौं जिल्ला अदालतले यसअघि धरौटीबापत ५ लाख रूपैयाँ लिएर छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर छुटे पनि मोरङ प्रहरीले पक्राउ गर्ने बुझेपछि उनले धरौटीबापतको रकम बुझाएका थिएनन् ।
धरौटी नबुझाएपछि डिल्लीबजार कारागार चलान गरिएको थियो । धरौटी बुझाएर छुटेका उनी काठमाडौंबाट विराटनगर आइपुग्नसाथ केही अघि पक्राउ परेका हुन् ।