राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

<span class='c1'>राष्ट्रिय भेलालाई शेरबहादुर</span> <span class='c2'>देउवाले सम्बोधन गर्ने</span>

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिएका हुन्।

शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकता र भावी कार्यदिशा तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताए।

उनले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गरिएको हो। भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ।’ कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै त्यसबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति दिएको निर्णयको हामी स्वागत गर्छौं। सर्वोच्च अदालतबाट हुने पुनरवलोकनबाट न्याय प्राप्त हुनेछ भन्नेमा हामी विश्वस्त छौं।’जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका देउवा हाल पत्नी आरजु राणासहित हङकङमा रहेका छन्। उनी साउन २६ गते साँझ नेपाल फर्किने कार्यक्रम रहेको जानकारी दिँदै कोइरालाले स्वदेश फर्किने क्रममा राज्यका तर्फबाट कुनै धरपकड नहुने विश्वास व्यक्त गरे।

उनले भने, ‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन जस्तो लाग्छ। तर यदि त्यस्तो भइहाल्यो भने हामी त्यसको विरोध गर्छौं।’पत्रकार सम्मेलनमा उनले पार्टीका नेता पूर्णबहादुर खड्का स्वास्थ्यका कारण उपस्थित हुन नसकेको जानकारी दिँदै नेता शेखर कोइरालाको पनि राष्ट्रिय भेलाप्रति समर्थन रहेको बताए।

उनले भने, ‘पूर्णबहादुर खड्काजीको स्वास्थ्य अवस्था राम्रो नभएकाले उहाँ आज आउन सक्नुभएन। शेखर दाइ विराटनगरमा घर निर्माणको काममा व्यस्त हुनुहुन्छ, त्यसैले उपस्थित हुन सक्नुभएन। तर उहाँको पनि यो राष्ट्रिय भेलाप्रति पूर्ण समर्थन छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्