विराटनगर । आपराधिक ढंगबाट व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीको घुमफिर अनुसन्धानमा परिरहेका अभिषेक गिरीले विरुद्धको जाहेरीमा अनुसन्धान गर्न चारदिनको म्याद थप भएको छ । जिल्ला अदालत मोरङले शुक्रबार गिरी विरुद्ध अनुसन्धान गर्न मोरङ प्रहरीले मागेको पहिलो चार दिनको म्याद जारी गरेको हो ।
गिरी यस अगाडी मोरङ कारागारका कैदीबन्दीको सुविधा असुली गरेको आरोपमा असार १३ गते पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान गरिरहेको बेला उनी बन्दीप्रत्यक्षीकरण रिटका आधारमा असार २२ गते छुटेका थिए । तर, छुट्नासाथ निर्माण व्यवसायी भुपाल श्रेष्ठको सम्पति हडपेको आरोपमा सिआईबीको नियन्त्रणमा परेका थिए । त्यसपछि साउन १५ गते काठमाण्डौं अदालतबाट पाँचलाख धरौटी माग भएपछि पुनः मोरङमा अर्को मुद्दाका लागि उनीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो ।
मोरङको साविक बबियाबिर्ता गाविस–७ हाल रंगेली नगरपालिका–१ का ४७ वर्षीय दिलिपकुमार चौधरी बड्कुले जिल्ला प्रहरी कार्यालय मोरङमा गिरी विरुद्ध किटानी जाहेरी दिएका हुन् । अभिषेक गिरी र उनकी दिदी अर्पणा तुलाधर गिरीविरुद्ध आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । अर्पणा तुलाधार भने आईसिपी व्यवस्थापन गर्दै आएको ट्रान्स नेपालमा कार्यरत रहेकी छिन् । चौधरीले जालझेल गरी पेट्रोल पम्प हडपेर आफ्नी दिदीको नाममा राखेको भन्दै आफूमाथि विश्वासघात गरेर व्यवसाय हत्याएको आरोप लगाएका छन् ।
यो पेट्रोलपम्प दिलिपकुमार चौधरीसँगै अर्का साझेदार दिनेश ठाकुरको लगानीमा रहेको थियो । तर, नाम भने चौधरीको मात्रै थियो । ठाकुर यसका साइलेन्ट पार्टनर रहेका थिए । मोरङको कटहरी गाउँपालिका–४ को पेट्रोल पम्पको व्यवस्थापन भने चौधरीले हेर्दै आएका थिए । त्यहि बेला चौधरीले गिरीसँग कारागार पुगेर २१ लाख रुपैँया ऋण लिएका थिए । पम्प सञ्चालन गर्न नसकेपछि उनले गिरीलाई भाडामा दिएका थिए । तर, यो कुरा अर्का पार्टनर ठाकुरले थाहै पाएनन् । उनी बाटो परेर रंगेली जाँदै गर्दा गिरीलाई पम्पमा देखेपछि मात्रै सोधखोज गरेका थिए ।
त्यसपछि यसको बिक्री प्रक्रिया थालिएको हो । तर, गिरीले २१ लाख ऋण देखाएर यसको चलनचल्तीको मूल्य नदिने हैन भने सम्झौता अनुसार भाडामा लिएको अवधीभर आफैं चलाउने भन्दै दवाब बढाएका थिए । पछि दुवै पार्टनरको सल्लाह अनुसार यसलाई कम मूल्यमा भएपनि बिक्री गर्नुपर्ने बाध्यता र दवाव परेपछि उनीहरुले स्वामित्व हस्तान्तरण गरिदिए । तर, पार्टनरमध्ये ठाकुरले यस विषयलाई खासै चासो राखेका छैनन् । चौधरीले भने आफ्नो व्यवसाय जर्बरजस्ती लिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
२०७९ सालमा उक्त सम्पत्तिको मूल्य पाँच करोड रुपैयाँ तोकिएको थियो । त्यतिबेला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिषेकले त्यसलाई आफैं खरिद गर्ने बताए । अनि कारागारबाटै कारोबारका लागि प्रक्रिया थालिएको थियो । पाँच कठ्ठा जग्गासहित पम्प र त्यहाँका संरचना अर्पणा तुलाधर सञ्चालक रहेको अन्नपूर्ण आयल सप्लायर्स प्रालिको नाममा पास गरिएको थियो । त्यति नगर्दासम्म चौधरीलाई अभिषेक गिरीकै केटाहरुले हैरान दिदै आएका थिए । बाध्यतामा परेर कम पैसा भएपनि लिएर बिक्री गर्नुपरेपछि अहिले चौधरी व्यवसायिक रुपमा कमजोर महसुश गर्दै आएका छन् ।
२०७९ फागुन २६ गते मोरङ मालपोत कार्यालयमा पेट्रोल पम्पका सञ्चालकहरु र अभिषेककी दिदी अर्पणाबीच चार करोड रुपैयाँ मूल्य उल्लेख गरी कटहरी–४ स्थित १,३८७.५ वर्गमिटर क्षेत्रफलको जग्गा, पेट्रोल पम्प र त्यहाँ रहेका सम्पूर्ण संरचना अन्नपूर्ण आयल सप्लायर्स प्रालिको नाममा रजिस्ट्रेसन पास गरिएको थियो । जाहेरीमा उल्लेख भएअनुसार सम्पत्ति पास भएपछि अर्पणाले विभिन्न चरणमा गरी दुई करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरिन् । त्यसको केही समयपछि जेलमुक्त भएका अभिषेकले अत्यावश्यक काम परेको भन्दै दिइसकेको रकममध्ये ५० लाख रुपैयाँ मागेर लगे । तर, त्यो पनि फिर्ता गरेनन् ।
पाँच करोडको सम्पति चार करोड रुपैयाँमा लिएर दुई करोड रुपैयाँ अझै बाँकी रहेको र पटक–पटक रकम माग्दा पैसा नदिने, उल्टै धम्की दिने तथा ज्यानको त्रास देखाउने काम भएको पीडितको दाबी छ । त्यसपछि आफू ठगीमा परेको थाहा पाएर प्रहरीमा जाहेरी दिएको चौधरीले उल्लेख गरेका छन् । यही घटनासहित अन्य उजुरीका आधारमा मोरङ प्रहरीले अभिषेकमाथि अनुसन्धान गरिरहेको छ । काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत उनलाई बिहीबार साँझ विराटनगर ल्याइएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चार दिनको म्याद पाएको बताएका छन् । उनले पीडित कोहि भए उजुरी दिनका लागि अनुरोध समेत गरेका छन् । एसपी कटुबालले गिरीलाई नियन्त्रणमा लिएपछि सामाजिक सुरक्षाको अवस्था मजबुत बनेको छ । यद्यपी उनले केहिदिन अगाडी उद्योगी घरानामा हानेको छापाले विवादित बनेका छन् । तर, सामाजिक सुरक्षा स्थापना गर्ने कार्यमा उनको हालसम्मको योगदान कदरयोग्य रहेको छ ।