सोनु साह
विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको अभाव हुने भन्दै घरघरमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो केही दिनयता बजारमा ग्यासको अभाव देखिएपछि सर्वसाधारणले आवश्यकता भन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण गर्न थालेका कारण केही स्थानमा ग्यासको अभाव देखिएको प्रशासनले जनाएको छ। नेपाल आयल निगमले बजारमा नियमित रूपमा ग्यास आपूर्ति गरिरहेको भए पनि आएको ग्यास छोटो समयमै बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन्।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको छ। विभिन्न डिपो तथा सबडिपोमार्फत उपभोक्तालाई ग्यास उपलब्ध गराइँदै आएको उनले बताए।
उनका अनुसार शुक्रबार मात्रै कोशी प्रदेशमा १९ हजार ५ सय ६२ सिलिन्डर ग्यास वितरण गरिएको छ। पर्याप्त आपूर्ति भइरहे पनि सर्वसाधारणमा ग्यास अभाव हुने त्रास बढेकाले घरघरमा आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको उनले बताए। सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बजारमा ग्यासको अभाव नरहेको भन्दै सर्वसाधारणलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरे। उनले अहिले देखिएको समस्या करिब एक साताभित्र समाधान हुने अपेक्षा गरिएको बताए।
ग्यासको आपूर्ति, बिक्री तथा भण्डारणको अवस्थाबारे जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य कार्यालयसहितको टोलीले विराटनगर तथा मोरङका विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा कुनै व्यक्ति वा डिलरले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने कोइरालाले स्पष्ट पारे। त्यस्तै, तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा कालोबजारी तथा अन्य सम्बन्धित कानुनअनुसार कारबाही गरिने उनले बताए।
प्रशासनले ग्यासको आपूर्ति नियमित रहेको भन्दै सर्वसाधारणलाई आत्तिएर आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना हुने अवस्था नल्याउन आग्रह गरेको छ।