विराटनगर । विराटनगरसहित मोरङका विभिन्न ग्यास डिपो, सबडिपो तथा पसलमा जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमन सुरु गरेको छ। बजारमा एलपी ग्यासको अभाव देखिएपछि प्रशासनले ग्यासको भण्डारण तथा वितरणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको हो।


जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा आपूर्ति तथा वाणिज्य कार्यालयका कर्मचारीसहितको टोलीले विराटनगरसहित जिल्लाका विभिन्न स्थानमा रहेका ग्यास डिपो तथा पसलमा अनुगमन गरिरहेको छ।
बजारमा दैनिक हजारौँ सिलिन्डर ग्यास आउने गरेको भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि प्रशासनले अनुगमन थालेको हो। बजारमा ग्यास अभावको हल्ला चलेसँगै कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास घरमै भण्डारण गर्न थालेका कारण पनि अभाव देखिएको प्रशासनको बुझाइ छ।


सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार अहिले बजारमा एलपी ग्यासको अभाव देखिएको छ। डिपो तथा सबडिपोमा ग्यास भण्डारणको अवस्था, ग्यास मौज्दात रहेर पनि पसलले वितरण गरिरहेको छ वा छैन भन्ने विषयमा अनुगमन भइरहेको उनले बताए। उनका अनुसार मोरङमा तीनवटा टोली बनाएर बजार अनुगमन भइरहेको छ। ग्यास उद्योग, डिपो, सबडिपो तथा बिक्री केन्द्रसमेत अनुगमनको दायरामा राखिएको उनले जानकारी दिए।


बजारमा ग्यास अभावको अवस्था सिर्जना हुन नदिन प्रशासनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा ग्यास लुकाएर राखेको पाइएमा कानुनबमोजिम कारबाही गरिने कोइरालाले बताए।
प्रशासनले ग्यासको कालोबजारी वा अनियमितता भएको जानकारी पाए तत्काल प्रशासनलाई सूचना दिनसमेत उपभोक्तालाई आग्रह गरेको छ। साथै, बजारमा ग्यास अभावको हल्लाका आधारमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न प्रशासनले अनुरोध गरेको छ।