विराटनगर । तेस्रो मुलुकका मालवस्तु बोकेर विराटनगर–१८ बुधनगरस्थित एकिकृत जाँचचौक (आइसिपी) नजिक रहेको नेपाल कष्टम यार्ड (एनसीवाई)सम्म दोस्रो कन्टेनर कार्गोरेल कोलकाता बन्दरगाहबाट छुटेको छ । यो अबका तीनदिनपछि विराटनगर भन्सार नजिक रेलमार्गमार्फत आइपुग्नेछ ।
तेस्रो मुलुकबाट आयात भएको मालवस्तु बोकेर यस अगाडी साउन ४ गते कार्गोरेल आइपुगेको थियो । अब २७ गतेसम्ममा अर्को कार्गोरेल आइपुग्ने गरी छुटेको हो । कार्गोरेलमा चन्द्रशिव राइस मिलले आयात गरेको तोरीसहितको अन्य दुई उद्योगको मालवस्तु आउनेछ । चन्द्रशिव राइल्स मिलका हरीबंश राठीका अनुसार युक्रेनबाट आयात भएको १२ कन्टेनर तोरी उद्योग रेलमार्फत आउने भएको हो । ट्रान्स नेपाल टिआरएस लोजीपार्कका व्यवस्थापक लक्ष्मी सुब्बाले अगस्ट १२ तारिखसम्ममा कार्गोरेल हेण्डलिंक गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।
गत साउन ४ गते सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित स्वस्तिक आयल इण्डष्ट्रिजको रेपसिड दाना लिएर कार्गोरेल आइपुगेको थियो । त्यो केएल दुगड ग्रुपले अष्ट्रेलियाबाट आयात गरेको दाना थियो । २०८० साल जेठ ३० गते करिडोरकै आरती स्ट्रिप्सको कच्चा लिएर पहिलो कार्गोरेल आएको थियो । त्यसपछि रोकिएको कार्गोेरेल तीनवर्ष पार गरेपछि साउन पहिलो हप्ता पुनः आएपछि यो दोस्रो हो ।
उद्योगी–व्यवसायीले भारतबाट औद्योगिक कच्चा कार्गोरेलमार्फत आयात गरिरहेका भएपनि त्यो एनसीवाई नजिकै रहेको इन्डियन कस्टम यार्ड (आइसीवाई) मा हेण्डलिंक गर्दै आएका छन् । अहिलेपनि भारतबाट आयात हुने मालवस्तु एनवाईसीसम्म ल्याउन उद्योगीहरुलाई महंगो पर्ने बताइएको छ । भारतबाट आयात गरिएका वस्तु आइसीवाईमा अनलोड नगरी एनसीवाईमा गर्दा २ लाख ५० हजार भारु थप शुल्क माग गरिएको भन्दै पैठारीकर्ताले आनाकानी गर्दै आएका छन् ।
यद्यपी उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जसरी भएपनि कार्गोरेल नियमित हुनुपर्नेमा आफ्नो विचार रहेको बताए । उनले नियमित गर्नका लागि सबै प्रक्रियामा लचिलो वातावरण तयार हुनुपर्ने माग गरेका छन् । चन्द्रशिव राइस मिल्सका हरीबंश राठीले अहिले रेलमार्फत सामान ढुवानी गर्दा पैठारीकर्तालाई फाइदा नरहेको बताए । उनका अनुसार यस अगाडी नै ढुवानीकर्तासँग गरिएको सम्झौता अनुसार रेल वा सडक जेबाट आएपछि आयातकर्ताले पैसा बुझाउनुपर्ने हुन्छ । तर, अहिले ढुवानी कम्पनीसँग भएको सम्झौता सकिएर नविकरण गर्दा भने त्यहि अनुसारको सम्झौता हुनेछ ।