विराटनगर । सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्ला समेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । जसमा कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका ५ हजार ५५४ थान, प्रिमा ३ हजार ८८२ थान, सुगम २ हजार २५२ थान र रिजालको ग्यास १३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको हो ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट प्रोडक्ट डेलिभरी अर्डर लिएर ग्यास आयात तथा भरण गरेर वितरण गर्दै आएका यी उद्योगबाट पछिल्लो पाँचदिन यता २२ हजारदेखि २६ हजारसम्म सिलिन्डर बजारमा पठाइएको छ । कोशी प्रदेश र मधेश प्रदेशमा पठाइएको सिलिन्डर गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १७ प्रतिशतले बढी हो ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार आर्थिक वर्ष २०८२÷२०८३ को साउन महिना भन्दा चालु आर्थिक वर्षको साउन महिनामा १० हजार भन्दा बढी सिलिन्डर ग्यास प्रतिदिन बजारमा गइरहेको छ । तर, पनि उपभोक्ताको लाइन बजारमा उस्तै देखिरहेको छ । गत आर्थिक वर्षको साउन महिनामा दैनिक १४ देखि १७ हजार सिलिन्डर ग्यास मात्रै सुनसरी मोरङ औद्योगिक करिडोरका पाँच उद्योगबाट कोशी र मधेश प्रदेश जिल्लामा पठाउने गरिएको थियो । चालु महिना साउनमा १४ हजार भन्दा कम संख्यामा सिलिन्डर बजारमा पुगेको छैन । पछिल्लो समय अभावको हल्ला बढ्दै जाँदा गतवर्षको साउनको उच्च संख्या १७ हजारबाट बढ्दै चालु महिनामा २६ हजार भन्दा बढी सिलिन्डर पुगिसकेको कार्कीले जानकारी दिनुभयो ।
नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरले पछिल्लो पाँच दिनयता उद्योग, उद्योगले पठाउने डिलर, डिलरले पडाउने डिपो र सव–डिपोसम्मको विवरण उल्लेख गरेर विवरण सार्वजानिक गर्दै आएको छ ।
सार्वजानिक विवरणमा ग्यास लोड भएका सवारीको नम्बर तथा चालकको नम्बर समेत उल्लेख छ । त्यस बाहेक सबै उद्योगमा आपूर्ति भएको ग्यास, भण्डारण रहेको ग्यास, खाली सिलिन्डरदेखि बजारमा रहेका सिलिन्डरको संख्या समेत दैनिक अद्यावधिक गर्दै आएको प्रमुख कार्कीले जानकारी दिनुभयो । तर, पनि बजारमा ग्यास अभाव भएको भन्दै डिपोमा उपभोक्ताको लाइन देखिनुले आश्चर्य पारिरहेको उहाँले बताउनुभयो ।
कार्कीले बजारमा ग्यासको आपूर्ति प्रणाली मजबुत रहेपनि अभाव देखिनुमा आवश्यकता भन्दा बढी भण्डारण भएको हुनसक्ने दावी गर्नुभयो । पछिल्लो पाँचदिनमा मात्रै पाँच हजार सिलिन्डर ग्यास बजारमा थप गएको दावी निगमको छ । ग्यास सहज रुपमा पाउनुपर्नेमा किन अभाव र झन्झट देखिरहेको छ भन्ने कुरालाई भने स्थानीय प्रशासनले निगरानी समेत थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले बजारमा ग्यास प्रशस्त आइरहेको भएपनि उपभोक्ता लाइनमा उभिनु परेको अवस्था बारे सुक्ष्म अध्ययन भइरहेको बताउनुहुन्छ । उहाँले आयल निगम र उद्योगको तथ्यांक अनुसार बजारमा सिलिन्डर आएर कहाँ–कहाँ र कति गइरहेको छ भन्ने यकिन गर्नका लागि विशेष निगरानी भइरहेको बताउनुभयो ।