सोनु साह
विराटनगर । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी नीति तथा विभिन्न सरकारी सेवाका लागि परिचयपत्र आवश्यक पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको संख्या एक्कासि बढेको छ।

सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण, तथ्यांक संकलनलगायतका कार्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि कार्यालयमा सेवाग्राहीको चाप बढेको हो। यस्तै, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बैंकिङ प्रयोजन तथा अन्य सरकारी सेवा लिनसमेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्न थालेपछि दैनिक रूपमा कार्यालयमा भीड बढ्दै गएको छ।

बढ्दो भीडलाई व्यवस्थापन गर्दै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा दुई चरणमा सञ्चालन गर्न थालेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार सेवाग्राहीको चापलाई ध्यानमा राख्दै बिहान ७ बजेदेखि १० बजेसम्म पहिलो चरण र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दोस्रो चरणमा सेवा सञ्चालन भइरहेको छ।

दुई चरणमा सेवा सञ्चालन गर्दा कार्यालयमा लाग्ने लामो लाइन घट्नुका साथै सेवाग्राहीको प्रतीक्षा समयसमेत कम हुने अपेक्षा गरिएको छ। यस व्यवस्थाले बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गरी राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने कार्यालयले जनाएको छ।