सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–९ का वडा अध्यक्ष विश्वनाथ प्रसाद भगत र राजस्वका कर्मचारीबीचको विवादले वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रभावित बनेको छ । वडाअध्यक्षको दवावका कारण कार्यस्थलमा कर्मचारी नआएपछि सेवाग्राहीको दवावबाट बच्न कार्यालयमा ताला लगाउने स्थिति सिर्जना भएको हो ।
वडा अध्यक्ष भगतले कार्यालयमा कर्मचारी नआए बुधबार ताल्चा लगाएर महानगरपालिकामा चाबी बुझाउने चेतावनी दिएका छन्। शुक्रबार राजस्वका एक कर्मचारीसँग कर बुझाउने विषयमा वडा अध्यक्ष भगतबीच विवाद भएपछि वडा कार्यालयको सेवा प्रभावित भएको थियो । त्यसयता कार्यालयमा आवश्यक कर्मचारी नहुँदा सेवाग्राहीका काम ठप्प भएको वडा अध्यक्ष भगतको भनाइ छ।
वडा कार्यालयमा कर्मचारी पठाउन महानगरपालिकासँग पटक–पटक आग्रह गरे पनि अहिलेसम्म कुनै पहल नभएको अध्यक्ष भगतले बताए। कर्मचारीको अभावमा शुक्रबारदेखि नै सेवाग्राही कार्यालयमा आएर काम नभएपछि गुनासो गर्दै फर्किनुपर्ने अवस्था रहेको उनले बताए।
अध्यक्ष भगतका अनुसार वडा कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि महानगरपालिकालाई पटक–पटक जानकारी गराउँदा समेत समस्या समाधान नभएपछि बाध्य भएर कार्यालयमा ताल्चा लगाउने तयारी गरिएको हो। उनले बुधबार दिउँसो १ बजेसम्म आवश्यक कर्मचारी नपठाए वडा कार्यालयमा ताल्चा लगाएर चाबी महानगरपालिकालाई बुझाउने बताए।
वडा कार्यालयमा कर्मचारी अभाव हुँदा दैनिक राजस्व संकलन तथा सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने विभिन्न सेवा प्रभावित भएका छन्। कर्मचारी नआउदा सेवाग्राहीलाई थप समस्या भएको वडा अध्यक्ष भगतको भनाइ छ। विराटनगर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विजय शर्माले सामान्य असमझदारी भएकाले अर्को कर्मचारी खटाइएको जानकारी दिएका छन् । कर्मचारी चाहिएको कुरा वडाअध्यक्षले गरेपछि आफूले मंगलबार नै खटाइसकेको जानकारी दिए । उनका अनुसार बुधबारदेखि सेवाप्रवाह सहज हुने उनको भनाई छ ।