स्वस्तिका भट्टराई
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–बरगाछी सडकको मेडियन (डिभाइडर) मा रोपिएका बिरुवासँगै झारजंगल र झाडी अत्याधिक बढेपछि सडकका क्रससेक्सनहरूमा दुर्घटनाको जोखिम उच्च बनेको छ। डिभाइडरमा उम्रेको सिरु तथा अन्य घाँसका कारण सवारी चालकहरूलाई अर्कोतर्फबाट आउने गाडी र बाटो काट्दै गरेका व्यक्तिहरु स्पष्ट नदेखिने समस्या उत्पन्न भएको छ।
यस विषयमा निरन्तर छलफल भइरहेको विराटनगर महानगरपालिका वातावरण शाखाका अधिकृत गोपाल निरौलाले जानकारी दिएका छन्। उनका अनुसार केही समयअघि बिजुली अफिस देखि दक्षिण रानीसम्मको क्षेत्र काटेर सफा गरिएको भए पनि लगातार परेको पानीका कारण पुनः झाडी पलाएर उस्तै अवस्था बनेको हो।


अनुमानित खर्चभन्दा कामदारको ज्याला धेरै पर्न गएकाले काममा अलिकति ढिलाई भएतापनि बिजुली अफिसदेखि उत्तरतर्फ धेरै झाडी भएको ठाँउमा सरसफाइको काम निरन्तर भइरहेको उनी बताउँछन्। विशेष गरी क्रससेक्सन क्षेत्रमा २ जना कामदार खटाएर निरन्तर काम भइरहेको उनले बताए।
निरौलाका अनुसार १ हप्तासम्ममा कामदार थपेर सरसफाइको कामलाई तीव्र बनाउने तयारी भइरहेको र आगामी रथयात्रा अघिसम्ममा सबै डिभाइडरको झाँस तथा झारजंगल सफाइ गरिसक्ने लक्ष्य रहेको छ। मेडियन स्ट्रिप्सको घाँस उखालेर वा काटेर बाहिर फ्याँकिन्छ । तर, त्यो घाँस त्यहि राखिदिए त्यसले बिरुवालाई मलसहित ओसिलोपनसँगै पुन? झार पलाउन समेत केहि कमि हुन्छ । यति मात्रै नभई डिभाइडरको झार उखेलेपछि ठूलो वर्षा भएमा त्यहाँको माटो बगाएर सडकमा ल्याउने संभावना कम हुन्छ ।