सोनु साह
विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा २४ घण्टा सञ्चालन हुने चमेना गृह (क्यान्टिन) सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रभाल झाले मंगलबार चमेना गृहको उद्घाटन गरेका हुन्। अस्पतालमा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई खाना तथा खाजा खान अस्पताल परिसरबाहिर जानुपर्ने बाध्यता थियो। उक्त समस्या समाधान गर्ने उद्देश्यले अस्पताल परिसरमै चमेना गृह सञ्चालनमा ल्याइएको हो।
चमेना गृहमा बिरामीका लागि सादा खानासहित विभिन्न प्रकारका खाना, खाजा, जुस, बिस्कुटलगायतका खाद्य सामग्री उपलब्ध हुने जनाइएको छ। चमेना गृह सञ्चालनमा आएपछि बिरामी, कुरुवा तथा अस्पतालमा कार्यरत कर्मचारीलाई समेत सहज भएको छ।
मेसु डा. झाले कोशी अस्पतालमा दैनिक हजारौँको संख्यामा बिरामी आउने गरेको बताउँदै अस्पतालमा ७ सयभन्दा बढी कर्मचारी तथा स्वास्थ्यकर्मी कार्यरत रहेको जानकारी दिए। यसअघि कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत खाजा खान अस्पतालबाहिर जानुपर्ने अवस्था रहेको भन्दै उनले चमेना गृह सञ्चालनमा आएपछि समयको बचत हुनुका साथै खाना तथा खाजाको सुविधा अस्पताल परिसरमै उपलब्ध भएको बताए।

उनका अनुसार चमेना गृह ठेक्का प्रक्रियामार्फत सञ्चालनमा आएको हो। पहिलो चरणमा तीन वर्षका लागि सम्झौता भएको उनले जानकारी दिए। चमेना गृहका सञ्चालक विजय साहले बिरामी तथा कुरुवालाई सहज र स्वस्थ खाना तथा खाजा उपलब्ध गराउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए। अस्पताल २४ घण्टा सञ्चालनमा रहने भएकाले चमेना गृहबाट पनि चौबिसै घण्टा सेवा प्रदान गरिने उनले जानकारी दिए।

मंगलबारदेखि नै सेवा सुरु गरिएको जनाउँदै साहले अस्पतालमा आउने बिरामी, कुरुवा तथा कर्मचारीलाई चमेना गृहबाट सेवा लिन आग्रह गरेका छन्। चमेना गृह सञ्चालनमा आएसँगै अस्पतालबाहिर गएर महँगोमा खाना तथा खाजा खानुपर्ने बिरामी र आफन्तको बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।