सोनु साह
विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा निर्माणाधीन दुई ठूला भवन वर्षौँ बितिसक्दा पनि सम्पन्न हुन सकेका छैनन्। भवन निर्माणमा भएको ढिलाइका कारण अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै उपचारका लागि आउने बिरामीले समेत सास्ती व्यहोर्नुपरेको छ।
अस्पताल परिसरमा हाल २५९ शैयाको आधुनिक भवन र ५ सय शैयाको मेडिकल भवन निर्माणाधीन अवस्थामा छन्। दुवै भवन समयमै सम्पन्न हुन नसक्दा अस्पतालमा उपलब्ध भौतिक संरचना अभावमा सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालको मुख्य गेटको बायाँपट्टि निर्माण भइरहेको २५९ शैयाको आधुनिक भवनमा आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजीलगायतका सेवा विस्तार गर्ने योजना छ। संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत निर्माण भइरहेको उक्त भवनको सम्झौता २०७८ असारमा भएको थियो। सम्झौताअनुसार २०८२ कात्तिक ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत मात्र पुगेको छ।
करसहित ३८ करोड ८७ लाख ३१ हजार २ सय २६ रुपैयाँमा ठेक्का सम्झौता भएको भवनको कुल अनुमानित लागत भने ६८ करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको छ। आयोजना संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, विराटनगरको मातहतमा सञ्चालन भइरहेको छ।
निर्माणमा ढिलाइ हुनुको मुख्य कारण ठेक्का पाएको निर्माण कम्पनीले बीचमै काम छाड्नु रहेको कार्यालयले जनाएको छ। सुरुमा भूमि निर्माण कन्स्ट्रक्सनले ठेक्का लिए पनि बीचमै काम छाडेपछि अहिले रमन कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी सम्हालिरहेको छ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र साहका अनुसार दोस्रो पटक थपिएको म्यादसमेत २०८३ असार २५ गते सकिएको छ। अब तेस्रो पटक म्याद थप गर्ने तयारी भइरहेको उनले बताए।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्र भाल झाले भवन निर्माणमा भएको ढिलाइले अस्पतालको दैनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको बताए। उनका अनुसार बिरामीको चाप बढ्दै जाँदा सेवा लिन आउने सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने अवस्था छ भने आकस्मिक कक्षमा समेत बेड अभाव हुने गरेको छ।
“इमरजेन्सीमा बेड अभाव हुँदा एउटै बेडमा दुई जना बिरामी राख्नुपर्ने अवस्था पनि आएको छ,” डा। झाले भने, “भवन समयमै सम्पन्न नहुँदा सेवा विस्तारमा समस्या भइरहेको छ। समयमै निर्माण सम्पन्न गराउन अस्पताल प्रशासनले आवश्यक पहल गरिरहेको छ।”
यसैगरी अस्पताल परिसरमै निर्माण भइरहेको ५ सय शैयाको मेडिकल भवनको अवस्था पनि उस्तै छ। संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत निर्माण भइरहेको उक्त भवनको ठेक्का केसी ग्रुपले पाएको हो। २०७९ पुस १३ गते सम्झौता भएको भवन २०८२ पुस १३ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर हालसम्म भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत मात्र पुगेको छ।
करसहित २ अर्ब ४५ करोड ९५ लाख ८० हजार ९ सय २० रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त भवन पनि संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको मातहतमा छ। सम्झौताको म्याद सकिएपछि अहिले म्याद थप गरेर निर्माण कार्य अघि बढाइएको छ।
कार्यालय प्रमुख साहका अनुसार मेडिकल भवन निर्माणस्थल खाली गराउन मात्रै करिब एक वर्ष समय लागेको थियो। त्यसका कारण पनि निर्माण कार्य प्रभावित भएको उनले बताए। “अहिले काम तीव्र गतिमा भइरहेको छ। केसी ग्रुपको कार्यक्षमता अहिले सन्तोषजनक देखिएको छ,” साहले भने।
सरकारी अस्पतालमा बिरामीको चाप पछिल्लो समय थपिँदै गएको अवस्थामा आवश्यक पूर्वाधारको अभावले कोशी अस्पताललाई थप दबाब परेको छ। निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम रोकिएपछि सरकारी अस्पतालमा आउने बिरामीको संख्या बढेको अस्पताल प्रशासनको भनाइ छ।
बिरामीको चाप बढ्दै जाने तर नयाँ भवन निर्माण सम्पन्न नहुने अवस्थाले अस्पतालको सेवा विस्तारमा चुनौती थपिएको छ। वर्षौँदेखि निर्माणाधीन रहेका दुवै भवन समयमै सम्पन्न भए अस्पतालमा थप शैया र विशेषज्ञ सेवा विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।