काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीको विरोध गर्दै नेपाल पत्रकार महासंघले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेको छ। बिहीबार जनआस्थाका सम्पादक श्रेष्ठको बिनाशर्त रिहाइ तथा जफत गरिएका सञ्चार सामग्री फिर्ताको माग गर्दै आयोजित विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। अध्यक्ष शर्माले सरकारले संविधान र लोकतान्त्रिक मूल्यमान्यताको उल्लंघन गरेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बस्ने नैतिक तथा कानुनी अधिकार नरहेको दाबी गरिन्।
उनले समाचारको स्रोत खोज्ने विषयमा संवैधानिक तथा अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गर्दै सञ्चारमाध्यममाथि प्रहरी प्रशासनको प्रयोग गरेर दबाब र हस्तक्षेप गरिएको आरोप लगाइन्। ‘अदालतले समेत समाचारको स्रोत खोतल्न नपाउने संवैधानिक र अन्तर्राष्ट्रिय मान्यता छ,’ शर्माले भनिन्, ‘तर सरकारले जनआस्थाको कार्यालयमै पुगेर कम्प्युटर, सीपीयू र पत्रकारका सञ्चार साधन जफत गरी स्रोत पत्ता लगाउने गैरकानुनी प्रयास गरेको छ।’ समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमार्फत कानुनी प्रक्रिया अघि बढाउने बाटो हुँदाहुँदै प्रहरी प्रशासन प्रयोग गरेर सञ्चारमाध्यममाथि धरपकड गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ।
महासंघले सञ्चारकर्मी तथा सञ्चारगृहमाथिको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेको छ। हस्तक्षेप नरोकिए देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिँदै महासंघले सरकारको कदमविरुद्ध कानुनी तथा सडक संघर्षमार्फत खबरदारी जारी राख्ने जनाएको छ।
जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी तथा सञ्चार सामग्री जफत गरिएको घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिँदै महासंघले श्रेष्ठको तत्काल बिनाशर्त रिहाइ र जफत गरिएका सामग्री फिर्ताको मागसमेत दोहोर्याएको छ।