काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई जवाफका लागि रुलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नुभएको हो । अर्यालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एक प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वका आधारमा हुने जानकारी बैठकमा दिनुभयो । यसअघि अघिल्लो संसद्मा वर्णानुक्रम अनुसार प्रश्न सोध्न दिने गरी कार्यविधि बनाइएको थियो । भदौ १० गतेको प्रश्नोत्तरका लागि भदौ ५ गते दिउँसो १ बजेभित्र लिखित रूपमा प्रश्न दर्ता गर्न सकिने छ ।
अढाई महिनादेखि प्रश्नोत्तर र प्रधानमन्त्रीको जवाफका लागि रुलिङको माग गर्दै विपक्षी दलहरूले सभामा विरोध जनाउँदै आएका थिए । प्रश्नोत्तर कार्यक्रमका लागि रुलिङ भएसँगै विपक्षी दलहरूसमेत आफ्ना विरोधका कार्यक्रमबाट पछाडि हटेका छन् । विपक्षी दलहरूले प्रतिनिधि सभाको अधिकांश बैठकको सुरुवातमै प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग राख्दै आएका थिए ।
सोमबारको बैठकमा आकस्मिक समय सकिएलगत्तै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ बमोजिम सदस्यहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभएको थियो । जवाफका लागि अर्यालले दुई पटकसम्म प्रधानमन्त्री शाहसँग भेटसमेत गर्नुभएको थियो ।