काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले अविरल वर्षाका कारण विभिन्न जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले संखुवासभाको भोटखोला गाउँपालिकाका विभिन्न स्थानमा अविरल वर्षाका कारण विद्युत् प्रसारण लाइन र नेटवर्क टावरमा अवरोध आएको बताए । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सोलार लाइटको भर पर्नुपर्ने र सामाजिक सञ्जाल तथा सञ्चार सेवाबाट समेत वञ्चित हुनुपरेको उनले बताए। उनले भने, ‘अविरल वर्षाको कारण संखुवासभा भोटखोला गाउँपालिकाको विभिन्न ठाउँमा विद्युत् प्रसारण लाइन र नेटवर्क टावरहरूमा अवरोध आएको कारण यहाँका स्थानीय जनताहरू सोलार लाइटमा भर पर्नुपर्ने र सामाजिक सञ्जालबाट वञ्चित हुनुपरेको छ ।’ त्यस्तै, उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ अन्तर्गत साप्ला र डगला गाउँ तथा ताप्ली गाउँपालिका–१ अन्तर्गत गुराँसे, जुके, फलाटे र चिलाङ बेतिनी गाउँमा अझै विद्युत् प्रसारण लाइन पुग्न नसकेको उनले जानकारी दिए।
उनले ती क्षेत्रका नागरिक आधारभूत विद्युत् सेवाबाट समेत वञ्चित रहेको भन्दै जतिसक्दो चाँडो समस्या समाधान गर्न स्थानीय र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराए। सांसद लिम्बुले भने, ‘जतिसक्दो चाँडो यी जनताका आधारभूत आवश्यकता र समस्याहरूको सम्बोधन होस् भनी स्थानीय अनि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’ उनले दुर्गम क्षेत्रमा विद्युत् तथा सञ्चारजस्ता आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।