धनुषा। धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले साविक मखनाहा गाउँ विकास समिति वडा नं. ६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न गरेको थियो। तर नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो।
विगतमा सम्बन्धित आयोगबाट नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै नापी कार्यालय धनुषाले ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणित हुने पुर्जाको प्रतीक्षामा रहेका स्थानीयवासीले लालपुर्जा पाएपछि आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको बताएका छन्।
नापजाँच सम्पन्न भएको लामो समयपछि पुर्जा वितरण भएपछि स्थानीयवासीमा खुसी छाएको छ भने अन्य गाउँ ब्लकका जग्गाधनीले समेत बाँकी प्रक्रिया छिटो पूरा गरी पुर्जा पाउने अपेक्षा गरेका छन्।