काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहालले राज्यले जनतामाथि हमला गरिरहेको आरोप लगाएका छन्।
मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले उक्त हमलाको सामना गर्ने मुख्य जिम्मेवारी पार्टीकै रहेको बताए।
पहिचान र अधिकार माथि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइराखेको बताउँदै उनले भने,‘हाम्रा मजदुर किसान र श्रमजीवी जनता माथि राज्यकै तर्फबाट हमला भइराखेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै काँधमा दिएको छ।’
यस्तै, उनले जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने धारणा राखे। लाखौँ क्रान्तिकारी कार्यकर्ता र नेताहरूको जमात भएको पार्टी नेकपा भएको बताउँदै उनले इतिहासलाई कहिल्यै बिर्सिन नहुने बताए।
यस्तै, उनले रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढेको र भ्रष्टाचार बढ्दै गएको आरोप लगाउँदै मिडियाको मुख थुन्ने काम भएको आरोप लगाए। उनले यसविरुद्ध बोल्नुपर्ने र छिट्टै आन्दोलन गर्ने बताउँदै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए। उनले भने,‘अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्।’