यो अन्तिम विकल्प हो सरकार !

<span class='c1'>यो अन्तिम विकल्प</span> <span class='c2'>हो सरकार !</span>

कोही कहिलै पूर्ण हुँदैन। न राजा पूर्ण थिए न त लोकतान्त्रिक भनिएका पार्टी नै। नयाँ भनिनेहरू त झन् कुहिरो भित्रको काग जस्तै देखिन्छन्। न गन्तव्य थाहा छ न त मार्ग नै निश्चित देखिन्छ। बिना रोडम्यापको यात्रा जस्तो। चार जनाको मिसन एउटा छ, अर्को चार जनाको अर्कै। मूल नेतृत्व त्रसित देखिन्छ। नहोस् पनि कसरी? बिचराले बाघको सवारी रोज्यो। बाघ उदण्ड छ। न नियन्त्रणमा आउँछ न त सवारी छोड्न सकिन्छ। देश बाघमात्रको अधीन छैन। नेपथ्यबाट केही ब्वाँसाहरूले शासन चलाए जस्तो लाग्छ।
जङ्गलको सन्तुलनमा सबैको भूमिका अपरिहार्य हुन्छ अपितु कोही पनि सन्तुलित भूमिकामा देखिन्नन्। आफ्नो रोल बिर्सेर जुन काम अगाडि देखियो त्यही गर्नु अनि अतिरन्जित प्रचारमा रमाउनु! के देश यसरी नै चल्छ? हिजो जसलाई अपराधीको ट्याग भिराइयो आज उसैलाई स्वागत गर्नु अनि हिजो जसको नाममा विद्रोह भयो आज उसैको अपराधीकरण हुनु, वास्तवमा दरिद्र देशको राजनीति यस्तै हुन्छ जस्तो हामीकहाँ दिनहुँ मन्चन भइरहेको छ।
जनता बिस्तारै अभ्यस्त हुँदै जानेछ औँ सराप्ने छ, "जुन जोगी आएपनि कानै चिरेका।" सुधारका सङ्केतहरू नदेखिएका होइनन् तर सुधारको आवरणमा बिगारको सङ्ख्या बढ्दै गए झैँ लाग्छ। देशभित्र र बाहिर खरबौँ कालो धन लुकेको सुनिदै आएको भएपनि फुटी कौडी पनि राष्ट्रको अधीनमा आउन सकेको छैन। अल्गोरिदमले देशलाई युरोपेली मापदण्डभन्दा माथि पुर्‍याइ सक्यो, यथार्थमा सोमालियाभन्दा तल झरेझैँ लाग्छ। बैंकमा खरबौँ थुप्रिएको छ। रिन खानेहरूमा भागभाग देखिन्छ। उदार अर्थतन्त्रबिना रोजगारी बढ्दैन, भाष्य यस्तो बनेको छ कि उद्यमी जति सबै माफिया हुन्। सरकार शक्तिशाली छ। हेर्दा लाग्छ, शक्ति र शाली एक छैनन्। हातले दिमागको निर्देशन नमाने जस्तो, खुट्टाले निर्देशित बाटो नहिँडे जस्तो अनि मुखले छाडापनको राग अलापे जस्तो।
सरकार, तिमी बेलैमा सचेत होऊ, बल्लबल्ल जागेको आशाको दियो निभ्नु हुन्न। तिमीलाई रत्तिपनि असफल हुने छुट छैन।
- भेषराज पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्