पहिरो प्रभावित बस्ती निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

<span class='c1'>पहिरो प्रभावित बस्ती</span> <span class='c2'>निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना</span>

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो र त्यसबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गरेका छन् ।

नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका सञ्चारमन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विभिन्न स्थानमा भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण भएको क्षतिको अवस्थाबारे जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले पहिरो प्रभावित बस्तीका स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिए । प्रभावित परिवारले पहिरोको जोखिमका कारण घरमा फर्केर बस्न सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत तथा व्यवस्थापनको अवस्थाबारे पनि जानकारी लिए । उनले तत्कालीन राहत र व्यवस्थापनसँगै पहिरोको जोखिममा रहेका बस्तीको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको बताए ।

‘प्रभावित क्षेत्रमा स्थानीय प्रशासनमार्फत भइरहेको उद्धार, राहत र व्यवस्थापनलगायतका कामबारे जानकारी लिएका छौं । पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरी बसोबासका लागि उपयुक्त भए–नभएको यकिन गर्न पहल हुनेछ,’ उनले भने ।

उनले जोखिमयुक्त बस्ती बसोबासका लागि अनुपयुक्त देखिएमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने र त्यसका लागि संघीय सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने बताए ।

स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सञ्चारमन्त्री तिमिल्सिनासहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालालाई वडा नं. ३, ४ र ५ का विभिन्न स्थानमा गएको पहिरो तथा त्यसबाट भएको क्षतिको अवस्थाबारे जानकारी गराएका थिए ।

भदौ ४ गते राति परेको अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेको छ । पहिरोका कारण बस्ती जोखिममा परेपछि प्रभावित परिवारले घर फर्केर बस्न सक्ने अवस्था नरहेको बताउँदै बस्ती नजिकै सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् ।

सञ्चारमन्त्री तिमिल्सिनाले प्रभावित परिवारको माग र अवस्थाबारे स्थानीय तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए । प्राविधिक अध्ययनका आधारमा जोखिमको अवस्था पहिचान गरी प्रभावितको सुरक्षित बसोबासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरिने उनको भनाइ थियो ।

निरीक्षणका क्रममा तिमिल्सिनाले प्रभावित बस्तीको भौगोलिक अवस्था, पहिरोबाट भएको क्षति तथा स्थानीयवासीको तत्कालीन आवश्यकताबारे समेत जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्