विराटनगर । स्वास्थ्य समस्यासँग जुधिरहेका ६ वर्षीय निकेश चौधरीको सफल उपचारपछि उनी नयाँ मुस्कानसहित घर फर्किएका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भोगिरहेका निकेशलाई सहयोग जुटेपछि उपचार सम्भव भएको हो।
निकेशको स्वास्थ्य अवस्था पछिल्ला महिनामा जटिल बन्दै गएपछि परिवार उपचारका लागि विभिन्न प्रयासमा थियो। तर आर्थिक अभावका कारण उपचार सहज हुन सकेको थिएन।
निकेशकी हजुरआमाको आग्रहपछि सामाजिक अभियन्ता प्रविना राईले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेकी थिइन्। उक्त पहलपछि विभिन्न सहयोगी मनहरू जोडिँदै गए र निकेशको उपचारका लागि आवश्यक सहयोग जुटेको थियो।
रेवन्त रुक्मणी मेमोरियल फाउन्डेसनको सहयोगमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा निकेशको उपचार गरिएको हो। सफल उपचारपछि उनी अहिले स्वास्थ्यलाभ गर्दै घर फर्किएका छन्।
निकेशको उपचारमा जुटेको सहयोगले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका बालबालिकाका लागि सामूहिक सहयोग र मानवताको महत्त्वलाई समेत उजागर गरेको छ।
निकेशको परिवारले उपचारका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। सहयोगी हातकै कारण निकेशको जीवनमा नयाँ आशा र मुस्कान फर्किएको परिवारको भनाइ छ।
“कहिलेकाहीँ एउटा सानो सहयोग कसैको जीवनको सबैभन्दा ठूलो आशा बन्न सक्छ” भन्ने उदाहरण निकेशको उपचारले प्रस्तुत गरेको छ।