सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न मुख्यमन्त्री कार्कीको जोड

<span class='c1'>सत्य र तथ्यमा आधारित पत्रकारिता</span> <span class='c2'>गर्न मुख्यमन्त्री कार्कीको जोड</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हितलाई केन्द्रमा राखेर सत्य तथा तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्रै समाजलाई बलियो बनाउने बताउनुभयो।

उहाँले बिमा कम्पनीलाई बीमितले पाउने सुविधा तथा रकम सहज र सरल ढङ्गबाट उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो। प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितका क्षेत्रमा काम गर्न बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। आफ्नो नेतृत्वको प्रदेश सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले व्यवसायी तथा पेशाकर्मीलाई आफ्नो क्षेत्रमा टिकाइराख्न बिमा कम्पनीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक र जोखिमपूर्ण पेशा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट पत्रकारहरू लाभान्वित हुने बताउनुभयो। उहाँले प्रदेश सरकारले एक हजार दुई सय पत्रकारको एक वर्षको दुर्घटना बिमाको खर्च व्यहोरेको जानकारी दिनुभयो। महासङ्घले आवश्यकता महसुस गरेमा आगामी दिनमा पनि बिमा कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकार सकारात्मक रहेको मन्त्री शेर्पाले बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका व्यवस्थापक निरञ्जन आचार्य तथा कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारको हकहित र दुर्घटना बिमा कार्यक्रमको प्रभावकारिताबारे धारणा राख्नुभएको थियो। प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशमा आबद्ध पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको हो। कार्यक्रमबाट कोशी प्रदेशका एक हजार दुई सय पत्रकार लाभान्वित हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्