रसुवा बाढीलाई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्न आग्रह

<span class='c1'>रसुवा बाढीलाई जलवायु संकट र</span> <span class='c2'>जलवायु न्यायसँग जोडेर हेर्न आग्रह</span>

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले रसुवामा बाढीले सिर्जना गरेको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको बताउँदै देश शोकमा डुबेको उल्लेख गरिन्। प्रारम्भिक अवस्था हेर्दा उक्त बाढी हिमताल विस्फोटबाट उत्पन्न भएको हुन सक्ने आशंका रहे पनि यसको वास्तविक कारण विस्तृत अध्ययनपछि मात्र स्पष्ट हुने उनले बताइन्। तर घटना प्राकृतिक कारणले मात्र भएको भनेर सीमित गर्न नहुने उनको भनाइ थियो। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, बाढी, पहिरो र हिमपहिरोजस्ता जोखिम बढ्दै गएको बताइन्। हिमाली क्षेत्रमा तीव्र रूपमा भइरहेको तापक्रम वृद्धि तथा हिमनदी र हिमतालमा देखिएका परिवर्तनले नेपालजस्ता पर्वतीय तथा विकासशील मुलुकलाई थप जोखिममा पारेको उनको भनाइ थियो।

‘जलवायु परिवर्तन सिर्जना गर्न नेपालको योगदान नगण्य छ, तर यसको असर हामीले भोगिरहेका छौँ,’ उनले भनिन्, ‘हिमतालको जोखिम, बाढी, पहिरो, हिमपहिरो, कृषि तथा पूर्वाधारमा हुने क्षति र अन्ततः मानवीय जीवनको क्षति हामीले व्यहोर्नुपरेको छ।’सांसद ओलीले जलवायु परिवर्तनको मूल्य सबैभन्दा कम जिम्मेवार देश र समुदायले चुकाउनुपर्ने अवस्थालाई जलवायु न्यायको विषयका रूपमा उठाउनुपर्ने बताइन्। उनले राहत र उद्धारसँगै विपद् रोकथामका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने, जोखिमयुक्त हिमतालको नियमित अनुगमन गर्नुपर्ने, जलवायु प्रतिरोधी पूर्वाधार निर्माण गर्नुपर्ने तथा जोखिममा रहेका बस्तीको पूर्वतयारी र सुरक्षित स्थानान्तरणमा ध्यान दिनुपर्ने बताइन्। ओलीले नेपालको जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिइन्। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु जोखिम र जलवायु न्यायका विषय उठाउँदै आए पनि त्यसअनुसारको जलवायु वित्त, अनुकूलन सहयोग, पूर्वसूचना प्रविधि र विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत पर्याप्त रूपमा प्राप्त गर्न नसकेको उनको भनाइ थियो। ‘नेपाल जलवायु संकटको सिर्जनाकर्ता होइन, तर यसको अग्रपङ्क्तिमा उभिएको पीडित राष्ट्र हो,’ उनले भनिन्। हिमालय साझा पारिस्थितिक प्रणाली भएकाले हिमाली जोखिम व्यवस्थापनका लागि राष्ट्रिय प्रयाससँगै क्षेत्रीय र विश्वव्यापी सहकार्य आवश्यक रहेको ओलीले बताइन्। रसुवाको बाढीलाई एउटा घटनाका रूपमा मात्र नहेरी नेपालको जलवायु सुरक्षा, हिमाली जोखिम र जलवायु न्यायको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउनुपर्ने उनले धारणा राखिन्।

उनले बाढीमा ज्यान गुमाएकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्। बेपत्ताको खोजी तीव्र बनाउन र प्रभावित नागरिकलाई तत्काल तथा पर्याप्त राहत उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरिन्। उद्धारमा खटिएका सुरक्षा निकायलाई धन्यवाद दिँदै ओलीले विपद्का बेला सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्