काठमाडौं । भोटेकोशी नदी जलाधार क्षेत्र र रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।
गृहमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त टोलीलाई आवश्यक निर्देशनसहित उद्धार तथा राहत कार्यका लागि बिदाइ तथा ब्रिफिङ गरेका हुन् । उनले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय र द्रुत परिचालनमा जोड दिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा र उद्धार रहेको स्पष्ट पारे । रात पर्नुअगावै अधिकतम उद्धार कार्य सम्पन्न गर्न सबै हेलिकोप्टर परिचालन गरिएको र निजी प्रयोजनका उडानहरू रोकेर उद्धारमै केन्द्रित गरिएको उनले जानकारी दिए । उनले भने, ‘पहिलो प्राथमिकता उद्धार नै हो । हामीले सबै हेलिकोप्टर परिचालन गरिसकेका छौँ। अहिले निजी प्रयोजनका लागि कसैले पनि उडान गर्न पाउने छैनन्, सबै हेलिकोप्टर रेस्क्युमा मात्र केन्द्रित छन् किनकि रात परेपछि उद्धारमा थप कठिनाइ हुन्छ। उद्धारलगत्तै उहाँहरूको लागि राहत र बसोबासको व्यवस्थापन गरिनेछ।’
बाढीको पछिल्लो वस्तुस्थितिबारे जानकारी दिँदै उनले माथिल्लो भेगमा हिमताल (ग्लेसियर) फुटेर भीषण बाढी आएकाले बस्तीहरू बगाएको र क्षतिको पूर्ण आकलन गर्न अझै समय लाग्ने बताए। ‘अझै पनि बाढीको सतह करिब ७ मिटरसम्म उच्च रहेको सूचना छ, त्यसैले हामीले सम्पूर्ण संयन्त्रलाई हाई अलर्टमा राखेर काम गरिरहेका छौँ,’ उनले थपे । यसैबीच, गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकहरूलाई उद्धार टोलीको ध्यानाकर्षण गराउन सुरक्षित स्थानमा आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह गरेका छन् । उनले भने, ‘ज–जसलाई आपत्कालीन उद्धार आवश्यक छ, उहाँहरूले सुरक्षित स्थानमा आगो बालिदिनुभयो भने हेलिकोप्टर टोलीले लोकेसन पहिचान गर्न सहज हुन्छ। सम्भव भएसम्म हेलिप्याड बनाउन मिल्ने खुला स्थान नजिकै आगो बालेर सिग्नल दिन म सबै प्रभावितहरूलाई अनुरोध गर्दछु।’