अमर न्यौपानेको मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’ वर्षौंअघि पढ्दा पाना पानामा आँसुका थोपाहरू खसेका थिए। त्यतिबेलै मनमा एउटा गहिरो छाप परेको थियो "यदि यो कथालाई कसैले दृश्यमा उतार्न सक्यो भने कति शक्तिशाली र मार्मिक बन्ला", लामो समयपछि चलचित्रको पर्दामा त होइन, तर त्योभन्दा हजार गुणा जीवन्त मञ्चमा विराटनगरको आरोहण गुरुकुलमा कान्तिपुर थिएटरको प्रस्तुति मार्फत नाटकको रूपमा ‘सेतो धरती’ हेर्ने सुवर्ण अवसर जुर्यो।
मञ्चमा मधुरो प्रकाशसँगै त्यो पुरानो, निर्मम समयको पर्दा खुल्यो। मेरो काखमा थिई मेरी पाँच वर्षकी सानी छोरी ,जसलाई दुनियाँको कुनै क्रूरता थाहा छैन, केवल आमा बुबाको न्यानो काख र निष्कपट हाँसो मात्र थाहा छ।
तर मञ्चमा जब ताराको कथा सुरु भयो, म आफूलाई सम्हाल्नै नसक्ने भएँ। गुडिया खेल्ने कलिलो उमेरमा विवाहको मण्डपमा बसालिएकी तारा, अनि केही समयमै सिन्दूर पुछिएर सधैँका लागि सेतो कपडाको कारागारमा थुनिएकी ती अबोध बालिकाको चित्कारले छाती चिरिएर आयो। मञ्चमा तारा रुँदै गर्दा, मेरो आँखाबाट बरबर आँसु खसिरहेका थिए। कति पटक मन भक्कानियो, कति पटक गला अवरुद्ध भयो, कुनै हिसाब रहेन।
नाटक हेर्दै गर्दा मेरो नजर बारम्बार मञ्चबाट हटेर आफ्नै काखमा रहेकी छोरीको अबोध अनुहारमा ठोक्किन्थ्यो। अचानक मनमा एउटा भयानक कल्पनाले डेरा जमायो "यदि आज पनि हाम्रो समाज त्यही युगमा अड्किएको भए? यदि मेरी यो सानी फूलजस्ती छोरी त्यो समयमा जन्मेकी भए?
यो सोच मनमा आउनासाथ मेरो मुटु चिसो भयो, डरले शरीर जिरिङ्ग काँप्यो। अनायासै मैले आफ्ना दुवै हातले छोरीलाई छातीमा झन् कस्सेर च्यापेँ, मानौँ म उसलाई त्यो अन्धकार युगको छायाबाट पनि जोगाउन खोजिरहेको छु। कस्तो ढुङ्गाको मुटु भएको समाज थियो त्यो? कस्तो धर्म र कस्तो संस्कार थियो, जसले एउटी अबोध बालिकाको रहर, हाँसो र जीवन नै खोसेर उसलाई पराइको जिम्मा लगाउथे , त्यो समयका मानिसहरू कसरी बाँचे होलान्, त्यो पीडा कसरी सहे होलान् भन्ने सोच्दा मात्रै पनि आत्मा काम्छ।
नाटक सकियो, हलभरि तालीको गडगडाहट गुन्जियो, तर मेरो मन अझै पनि त्यही मञ्चको सेतो पहिरनभित्र निसास्सिरहेको थियो। छोरीलाई काखमा लिएर हलबाट बाहिर निस्कँदा खुला आकाशमुनि लामो सास फेरेँ। हामी त्यो बर्बर समयबाट धेरै अघि बढिसक्यौँ भन्नेमा एउटा अभिभावकको मनले ठूलो राहत त पायो, तर इतिहासका ती अनगिन्ती ‘तारा’हरूको मौन चित्कारले भने मुटुमा निकै गहिरो घाउ छोडेर गयो।
कलाकारहरूको अद्भुत जीवन्त अभिनय र मन छुने निर्देशनले उपन्यासलाई मञ्चमा साँच्चिकै पुनर्जन्म दिएको छ।
कान्तिपुर थिएटरद्वारा प्रस्तुत यो मार्मिक नाटक ‘सेतो धरती’ विराटनगरको आरोहण गुरुकुलमा आज र भोलि पनि मञ्चन हुँदैछ। इतिहास, समाज र संवेदनालाई नजिकबाट महसुस गर्न चाहनुहुन्छ भने यो नाटक एकपटक अवश्य हेर्नुहोला।