विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा तयारी अन्तिम चरणमा, ५ लाख भक्तजन आउने अपेक्षा

<span class='c1'>विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा तयारी अन्तिम</span> <span class='c2'>चरणमा, ५ लाख भक्तजन आउने अपेक्षा</span>

सोनु साह
विराटनगर । विराटनगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते शनिबार भव्य रूपमा आयोजना हुने भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने ५९औँ संस्करणको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजक श्री राधाकृष्ण रथयात्रा समारोह समिति–२०८३ ले जनाएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गर्दै समितिले रथयात्राको तयारी, सुरक्षा व्यवस्थापन तथा कार्यक्रमबारे जानकारी दिएको हो।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ः३० बजे रथयात्रा सुरु हुनेछ। रथयात्राले विराटनगरका विभिन्न क्षेत्रको करिब ९ किलोमिटर दूरी तय गर्दै नगर परिक्रमा गर्नेछ। तीनपैनी, ट्राफिक चोक, रोडशेष, महेन्द्र चोक, बरगाछीलगायत क्षेत्र हुँदै रथ पुनः राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन हुने आयोजकले जनाएको छ। रथयात्रामा नेपाल तथा भारतका विभिन्न स्थानबाट करिब ५ लाख श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको समितिका अध्यक्ष कैलाश रेग्मीले बताए। भक्तजनको सहजताका लागि रथयात्रा मार्गमा विभिन्न स्थानमा विश्रामस्थल तथा स्वास्थ्य सेवाको व्यवस्था गरिने भएको छ। रथयात्रालाई व्यवस्थित बनाउन करिब १ हजार स्वयंसेवक परिचालन गरिनेछ भने १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। सुरक्षाका लागि ड्रोनबाट समेत निगरानी गरिने आयोजकले जनाएको छ। रथयात्राका क्रममा डिजे तथा ध्वनि व्यवस्थापनमा समेत निगरानी बढाइने अध्यक्ष रेग्मीले बताए। रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा, ट्राफिक व्यवस्थापन, विद्युत् तथा टेलिफोनका तार व्यवस्थापन, सडक सरसफाइ र आवश्यक मर्मतसम्भारका विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको समितिले जनाएको छ।


ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक परम्परासँग लामो समयदेखि जोडिएको छ। आयोजकका अनुसार वि.सं. १९८८ सालमा पण्डित इन्द्रलाल भट्टको अगुवाइमा राधाकृष्णको मूर्ति खटमा राखेर नगर परिक्रमा गराउने परम्परा सुरु भएको थियो। पछि वि.सं. २०२५ सालमा रथ निर्माण गरी रथयात्राका रूपमा अघि बढाइएको इतिहास छ।

यस वर्ष रथयात्राको अवसरमा धर्म–संस्कृति पुरस्कार तथा छात्रवृत्ति पनि प्रदान गरिने भएको छ। धार्मिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्नुका साथै संस्कृत अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समितिले जनाएको छ। त्यस्तै, रथयात्राका क्रममा भक्तजनबाट प्राप्त भेटी रकम प्राकृतिक विपद्बाट प्रभावित तथा पीडित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए।

रथयात्रालाई भव्य, व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कोशी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायसँग समन्वय भइरहेको आयोजकले जनाएको छ। समितिका अनुसार रथयात्राको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्ने कार्यक्रम तय भएको छ।

आयोजक समितिले सम्पूर्ण भक्तजन, नगरवासी तथा धर्मप्रेमी सर्वसाधारणलाई ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा सहभागी भई धार्मिक तथा सांस्कृतिक पर्वलाई सफल बनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्