विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विराटनगरका संगीतकर्मीहरू एकजुट भएका छन् । संगीतको माध्यमबाट सहयोग जुटाउने उद्देश्यले विराटनगरमा ‘म्युजिक फर होप’ नामक च्यारिटी सांगीतिक कार्यक्रम आयोजना गरिएको हो।
गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट धेरै मानिसको ज्यान गएको, बेपत्ता तथा घाइते भएको जनाइएको छ। बाढीपीडितको पीडामा साथ दिने उद्देश्यले विराटनगरका संगीतकर्मीहरूले च्यारिटी सांगीतिक कार्यक्रममार्फत सहयोग संकलन अभियान सञ्चालन गरेका हुन् । ‘संगीत हाम्रो भाषा, सेवा हाम्रो भावना’ भन्ने मूल नाराका साथ विराटनगरका तीन स्थान—ट्राफिक चोक, सेन्ट्रल मल र भाटभटेनी—मा सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ। ‘एकता, संगीत र सहानुभूति, यही हो हाम्रो शक्ति’ भन्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय संगीतकर्मी, संगीत समूह तथा कलाकारहरूले निःशुल्क प्रस्तुति दिइरहेका छन् । कार्यक्रममा विराटनगरका एक दर्जनभन्दा बढी म्युजिक ब्यान्ड तथा हास्य कलाकार पारस थापालगायतका कलाकारहरूले प्रस्तुति दिएका छन् । संगीतको मनोरञ्जनसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्न अपिलसमेत गरिएको आयोजकले जनाएको छ।
च्यारिटी कार्यक्रमबाट संकलन हुने सम्पूर्ण रकम भोटेकोशी बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रयोग गरिने विराटनगर म्युजिसियनको टोलीले जनाएको छ। संकलित रकमबाट बाढीपीडितका लागि खाद्यान्न, बासस्थान तथा स्वास्थ्य उपचारलगायतका आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ।
कार्यक्रमको उद्देश्य मनोरञ्जन मात्र नभई विपद्को समयमा समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नु रहेको युवा गायक तथा कार्यक्रमका सहभागी सुभम न्यौपानेले बताए।
‘बाढीपीडित परिवार अहिले कठिन अवस्थामा छन्। हामीले आफ्नो कला र संगीतमार्फत उनीहरूको पीडामा केही मलम लगाउने प्रयास गरेका हौँ,’ न्यौपानेले भने, ‘सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत पुग्न सक्छ भन्ने विश्वासका साथ संगीतकर्मीहरू एकजुट भएका छौँ।’
विराटनगरका संगीतकर्मीहरूले विपद्को समयमा कलाकारको सामाजिक दायित्वसमेत हुने भन्दै सांगीतिक कार्यक्रममार्फत सहयोग जुटाउने अभियानलाई निरन्तरता दिएका हुन्। उनीहरूले कार्यक्रममा सहभागी भएर कलाकारको प्रस्तुति सुन्नुका साथै बाढीपीडितका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।