विराटनगर । विराटनगरमा आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्रालाई थप व्यवस्थित, सुरक्षित तथा प्रविधिमैत्री बनाउन रथमा जीपीएसमार्फत स्थान निगरानी” प्रणाली प्रयोग गरिने भएको छ। राधाकृष्ण रथयात्राका क्रममा रथको वास्तविक स्थान पहिचान गर्न तथा आवागमनको निगरानी गर्न जीपीएसमार्फत र मल्टिप्लेक्स इन्फो सिस्टम, विराटनगर को सहकार्यमा जीपीएसमार्फत निगरानी प्रणाली सञ्चालन गर्न लागिएको हो।
उक्त प्रणालीमार्फत रथको लाईभ लोकेशन पत्ता लगाउन सकिनेछ भने उपलब्ध गराइने लिंकमार्फत सर्वसाधारणले समेत रथ कहाँ पुगेको छ भन्ने जानकारी प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।
रथयात्राका क्रममा ठूलो संख्यामा श्रद्धालुको सहभागिता हुने भएकाले रथको आवागमन व्यवस्थापन, सुरक्षा निगरानी तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न जीपीएस प्रविधि प्रभावकारी हुने अपेक्षा गरिएको छ।
प्रविधिको प्रयोगले रथयात्राको व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउनुका साथै रथको अवस्थाबारे वास्तविक समयमै जानकारी लिन सकिने आयोजकको विश्वास छ।
जीपीएसमार्फत स्थान निगरानी” तथा लाईभ लोकेशन सम्बन्धी थप जानकारीका लागि ९८५२०५१००० मा सम्पर्क गर्न सकिनेछ।