विराटनगर । भाटेकोशीका बाढी प्रभावितका लागि आर्थिक सहयोग संंकलनार्थ आरोहण गुरुकुल विराटनगरमा आईतबारदेखी 'सिफारिस ' नाटक मञ्चन भएको छ ।

साहित्यकार धिरज राईको कथा 'सिफारिस' मा आधारित नाटक भदौ २१ गतेदेखी २४ गते हरेक साँझ ५ बजे पछि मञ्चन हुने गरेको छ । सिफारिस नाटकमा एउटा मृत्युको दर्ताको वरिपरि घुमेको यस नाटकमा मधेसी परिवेश मार्फत महिला हिंसा, दाईजो प्रथा तथा जालझेललाई झल्काउने प्रयास गरिएको छ ।

नाटकबाट संकलित रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने कार्यक्रम संयोजक देवेन्द्र यादव (आरोग्य ) ले बताए । आयोजकले बाढी प्रभावितको सहयोगका लागि आयोजना गरिएको नाटकमा सहभागी भई सहयोग गरिदिन सम्पूर्ण दर्शक तथा शुभेच्छुकलाई आग्रह गरेको छ।

नाटकको टिकट दर ३००, ५०० र १ हजार रुपैयाँ तोकिएको छ । विद्यार्थीका लागि भने सहुलियतको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नाटकमा दान बहादुर अधिकारी, राजेश ठाकुर, निशान चौहान राई, महेश पासवान, संगिता यादव, प्रदिप दाहाल, गीता कोईराला, अमिशा वाग्ले, डेविड विष्ट स्नेहा पोख्रेल र भरत कार्की लगायतका कलाकार रहेका छन् ।

भदौ १० गते आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति आयोजकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको यथाशीघ्र खोजी तथा पत्ता लागोस् भन्ने कामना गरिएको छ।