सोलुखुम्बु । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका तथा हालसम्म आफन्तको सम्पर्कमा नआएका नागरिकको पहिचानका लागि सोलुखुम्बुका १० जना हराइरहेका व्यक्तिका आफन्तले डीएनए परीक्षणका लागि नमुना दिएका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन फेला नपरी हराइरहेका व्यक्तिको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वयमा डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको हो ।
हराइरहेका १० जनाका आफन्त मिति २०८३ भदौ २१ गते जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा उपस्थित भई डीएनए परीक्षणका लागि आवश्यक नमुना दिएका हुन् ।
बाढीका क्रममा फेला परेका शव, शरीरका कुनै अंग वा भागको वैज्ञानिक विधिबाट पहिचान तथा एकिन गर्न डीएनए परीक्षण गरिने प्रहरीले जनाएको छ । संकलित नमुनालाई फेला परेका शव तथा शरीरका अंग वा भागसँग परीक्षण गरी हराइरहेका व्यक्तिको पहिचान गर्न सहयोग पुग्ने जनाइएको छ ।

बाढीपछि आफन्त सम्पर्कविहीन भएपछि परिवारमा अन्योल कायम रहेकाले डीएनए परीक्षणबाट पहिचान खुलेपछि परिवारलाई थप जानकारी प्राप्त हुने आशा गरिएको छ ।