विराटनगर । नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्यम तथा व्यवसायमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे उद्यमीलाई जानकारी गराइएको छ ।
त्यसका लागि बुधबार विराटनगरमा आयोजित कार्यशालालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले एलडीसी स्तरोन्नतिपछि विशेषगरी महिला उद्यमीले सञ्चालन गरेका साना तथा मझौला उद्यममा पर्न सक्ने प्रभाव, बजारको अवस्था, लगानी, उत्पादन र प्रतिस्पर्धाका विषयमा सचेतना गराउन यस्तो कार्यक्रम गरिएको जानकारी दिए ।
अध्यक्ष राउतले विकासशील मुलुकमा स्तरोन्नति हुनु अन्तर्राष्ट्रिय समुदायमा नेपालको आर्थिक तथा सामाजिक प्रगतिलाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण उपलब्धि भए पनि यससँगै निजी क्षेत्रले सामना गर्नुपर्ने चुनौतीका लागि समयमै तयारी गर्नुपर्ने बताए ।
‘स्तरोन्नतिसँगै अवसर आउँछन्, तर त्यससँगै चुनौती पनि थपिन्छन्, त्यसैले नेपाली उद्यमी तथा व्यवसायीले सम्भावित प्रभावको अध्ययन गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन अहिलेबाटै तयारी गर्न आवश्यक छ’ उनले भने ।
जीआईजेडका टोली अध्यक्ष रोशन नेपालले एलडीसीबाट स्तरोन्नतिपछि नेपालका उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन गरिएको जानकारी दिए ।
परामर्शदाता भोजराज पौडेलले नेपालको स्तरोन्नतिको प्रक्रिया, संयुक्त राष्ट्रसंघमा अघि बढाइएको एजेन्डा, सम्भावित प्रभाव तथा निजी क्षेत्रको भूमिकाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले आफूले सञ्चालन गरिरहेको ब्याग उद्योगमा लगानी तथा बजारीकरणको समस्या रहेको उल्लेख गर्दै विकासशील मुलुकमा स्तरोन्नति भएपछि आफ्नो व्यवसायमा पर्न सक्ने प्रभावबारे चिन्ता व्यक्त गरिन् ।
मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीले सञ्चालन गरेका उद्यमलाई वित्तीय पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् । विराट बायोटेकका सञ्चालक ढुण्डी ढकालले एलडीसीमा स्तरोन्नतिले निर्यात क्षेत्रमा पार्न सक्ने प्रभावबारे प्रश्न गर्दै राज्यको लगानी आयात प्रतिस्थापन तथा स्वदेशी उत्पादन प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताए ।
उद्यमी यात्री चापागाईंले आफू हस्तकला व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै चीनबाट कच्चा पदार्थ आयात गर्दा विभिन्न समस्या भोग्नुपरेको बताए । उनले उद्यमशीलता प्रवद्र्धन गर्ने गरी नीति निर्माण तथा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँले नेपाली उद्यमीले आफ्ना उत्पादनको प्रवद्र्धन गरिरहेको भए पनि भारतसँगको खुला सीमाका कारण प्रतिस्पर्धामा समस्या भइरहेको बताए । तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात बढाउन निजी क्षेत्रले उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता अझ सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि शिवसताक्षी उद्योग वाणिज्य संघकी प्रतिनिधि मेरीना कार्की, उद्यमी मनिषा दर्नाल तथा इटहरी खुसी मिटकी सञ्चालक मीनुकुमारी राईले टिप्पणी तथा सुझाव राखेका थिए ।
कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी महिला उद्यमी सभापति कृति श्रेष्ठ उपाध्यायले विकासशील मुलुकमा स्तरोन्नतिको प्रक्रियालाई अवसरका रूपमा उपयोग गर्न महिला उद्यमीले आफ्ना उत्पादन, बजार, प्रविधि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताइन् ।
कार्यशालाले एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाली निजी क्षेत्र, विशेषगरी महिला उद्यमीले सामना गर्न सक्ने चुनौती तथा त्यसका लागि आवश्यक तयारीबारे जानकारी र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको सहभागीहरूले बताएका छन् ।