विराटनगरमा असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने

<span class='c1'>विराटनगरमा असोज २२ देखि ३० गतेसम्म</span> <span class='c2'>‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने</span>

विराटनगर । विराटनगरमा आगामी असोज २२ गतेदेखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ। विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा दोस्रो संस्करणको ट्रेड फेयर आयोजना गर्न लागिएको हो।

उद्योग तथा व्यवसाय क्षेत्रको विकास र प्रवर्द्धनसँगै स्वदेशी उत्पादन, कृषि, पर्यटन, ऊर्जा तथा अन्य सम्भावित क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेड फेयर आयोजना गर्न लागिएको विराट व्यापार संघले जनाएको छ।

संघका अनुसार यस वर्षको मेलामा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका करिब १ सय वटा स्टल रहनेछन्। मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, हार्डवेयर, स्टिल तथा ट्रेडिङ, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामग्री, अटोमोबाइल, फर्निचर, फर्निसिङ सामग्री, गृहउपयोगी सामग्री, कृषि तथा कृषि उत्पादन, बैंक तथा वित्तीय सेवा, सूचना प्रविधि, हस्तकला लगायतका वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ।

दसैँ–तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै आयोजना हुने मेलामा उपभोक्ताले आवश्यक वस्तु तथा सेवा सहज, आकर्षक र प्रतिस्पर्धी मूल्यमा प्राप्त गर्न सक्ने आयोजकको अपेक्षा छ। साथै, मेलाले स्थानीय बजारमा चहलपहल बढाउँदै विराटनगरको आर्थिक गतिविधिमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

यसअघि विराट व्यापार संघले तत्कालीन अध्यक्ष यादव पोखरेलको कार्यकालमा पहिलोपटक विराट महोत्सव आयोजना गरेको थियो। उक्त महोत्सवमा नेपाल, भारत तथा पाकिस्तानका गरी ७८ वटा स्टल राखिएको र ११ दिनसम्म सञ्चालन भएको मेलामा नेपाल तथा छिमेकी मुलुकबाट करिब ५५ हजार दर्शकले अवलोकन गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन।

विराट व्यापार संघले स्थापना कालदेखि नै व्यवसायीको हकहित, व्यापारिक एकता, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रको सशक्तीकरणका लागि काम गर्दै आएको जनाएको छ। संघले व्यवसायीका समस्या समाधान, सरकारी निकायसँग समन्वय तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।

आयोजकले ‘विराट ट्रेड फेयर २०८३’ लाई विराटनगरको व्यापारिक तथा आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्