विराटनगर । आफै चालक भएको सिटीले ठक्कर दिएर घाईते भएका पैदल यात्रुलाई उपचारका लागि अस्पताल भन्दै सडकमा छोड्ने व्यक्ति पक्राउ परेका छन् । सिटी सफारीको ठक्करबाट गम्भीर घाइते व्यक्तिको भने अस्पताल नपु¥याउँदा मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो । बस्नेत सडकमा हिँडिरहेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी ठक्कर दिने सफारीमा राखेर उपचारका लागि कोशी अस्पताल पठाएका थिए । सिटी समेत सडकमा पल्टिएको थियो । सबै मिलेर सिटी उठाइकन चालकलाई समेत अवस्था सोधखोज गरेर घाइते बृद्धलाई अस्पताल पु¥याउन लगाएका थिए । तर, चालकले घाइते बस्नेतलाई अस्पताल पुर्याएनन् । विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर उनी फरार भएका थिए ।
मालपोत कार्यालय कोशी अस्पताल नजिकै छ । बिहान सिमसिम पानी परिरहेको समयमा मालपोत कार्यालयनजिकै बस्नेत मृत अवस्थामा भेटिएका थिए । प्रहरीले यस्तो बेइमानी गर्ने चालक ५५ वर्षीय अर्जुन भगतलाई बिहान ८ः३० बजे कटहरी गाउँपालिका–२ स्थित उनको घरबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका भगतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।