विराटनगर । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निक्कै कडाई गरेपनि अवैध कारोबार गर्नेहरुले फरक फरक जुक्ति लगाएर मालवस्तु नेपाल भित्र्याउने गरेका छन् । जसमा सबैभन्दा धेरै मटेर्वा नाकाबाट खेलोफड्को चलिरहेको छ । स्थानीय एक युवाले दिएको जानकारी अनुसार कवाडी बोकेर गएका ठेला कपडा लिएर फर्कन्छ । जुन जोगबनीबाट मटेर्वा हुँदै विराटनगर–१४ सम्म आइपुग्छ ।
सीमा क्षेत्रमा अधिक कडाई भइरहेको भनिएपनि कपडा तथा रजनीगन्धा भित्र्याउने गिरोह अहिले पुरै सक्रिय भएको छ । दिउँसो २ बजेपछि चल्ने लाइन रातभर सूचारु हुने गरेको छ । रजनीगन्धा चाँहि स्कुटी र बाइकमा आउने गरेको छ । यसरी आएको रजनीगन्धा बजारमा पुग्ने गरेको छ । केहिदिन अगाडी प्रहरीले विराटनगर–१४ का सुरेश यादवको घरमा खानतलासी लिएर रजनीगन्धा बरामद गरेको थियो ।
सुरेश–सवनम विराटनगरका नाकाबाट अवैध कारोबार साझेदार हुन् । उनीहरुले नै कपडा तथा रजनीगन्धादेखि किराना सामानसम्म ल्याउने गरेका छन् । यस विषयमा सुरेश यादवसँग बुझ्दा अहिले कारोबार भइनरहेको बताए । उनले अस्ती सशस्त्र प्रहरी बलले नराम्रोसँग फसाएको आरोप समेत लगाएका छन् । उनले भन्सारमा मात्रै नभई बिचौलियालाई समेत ढेड लाख बुझाउनु परेपछि अहिले कारोबार रोकेर बसेको सुनाए ।