सोनु साह,
विराटनगर । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज सोमबार देशभर मनाइएको छ। शिव मन्दिरहरूमा पूजापाठ, भजन–कीर्तन तथा नाचगान गर्दै मनाइने तीज यस वर्ष भने देशमा भएको जनधनको क्षतिका कारण विगतको तुलनामा शान्त र संयमित रूपमा मनाइएको छ।
विराटनगर महानगरपालिका–१३ स्थित शिव मन्दिरमा पूजा गर्न आएका महिलाहरूले भगवान् शिवसँग आफ्नो परिवारको सुख, शान्ति र समृद्धिसँगै विपद्मा परेका नेपालीहरूको उद्धार तथा सुरक्षाका लागि प्रार्थना गरेका छन्।
मन्दिरमा भेटिएका व्रतालु महिलाहरूले देशका विभिन्न क्षेत्रमा भएको विपद्का कारण आफूहरू दुःखी रहेको बताए। आफ्नै क्षेत्रमा त्यस्तो अवस्था नदेखिए पनि देशको कुनै प्रदेशमा भएको दुःख सबै नेपालीका लागि उत्तिकै पीडादायी हुने उनीहरूको भनाइ छ। विराटनगर–१३ की सरिता थापाले तीज पर्व पार्वती माताले भगवान् शिवका लागि गरेको व्रतको सम्झनामा मनाइँदै आएको बताइन्। उनले यस वर्ष पर्व मनाउँदै गर्दा देशमा भएको दुःखद घटनाले मन भारी भएको बताइन्।
“पर्व छोड्न पनि मिल्दैन। त्यसैले यस पालि हामी दुःखमा रहेका नेपालीहरूको लागि प्रार्थना गरेका छौँ। अबदेखि देशमा कुनै किसिमको विपद् नहोस् र यस्ता प्राकृतिक घटना नदोहोरिऊन् भन्ने भगवान् शिवसँग कामना गरेका छौँ,” उनले भनिन्।
इलाम निवासी एसुजा थापाले तीजमा विवाहित महिलाले श्रीमानको दीर्घायुका लागि व्रत बस्ने प्रचलन रहेको बताइन्। यस वर्ष भने विपद्मा परेका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन परिवारका सदस्यहरू सकुशल सम्पर्कमा आऊन् भन्ने कामना गरेको उनले बताइन्। “देशमा भएको घटनाले सबै नेपाली दुःखी छन्। त्यसैले यस पालि विगतजस्तो तीजको चहलपहल देखिएन। धेरै महिला दिदीबहिनीहरूले शान्त रूपमा पर्व मनाउनुभएको छ,” उनले भनिन्।
इन्द्रेणी राईका अनुसार तीज महिलाहरूको प्रमुख पर्व हो। भगवान् शिवका लागि पार्वती माताले व्रत बसेको विश्वासका आधारमा महिलाहरूले श्रीमान्को दीर्घायु तथा परिवारको सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने गर्छन्। “यस दिन सामूहिक भजन–कीर्तन र नाचगान गरेर तीज मनाउने गरिन्छ। तर यस वर्ष देशमा ठूलो घटना भएकाले खासै नाचगान नगरी मनाइएको छ,” राईले भनिन्।
त्यस्तै, ज्ञानु दासले तीजको धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताइन्। अविवाहित युवतीले योग्य श्रीमान्को कामना गर्दै र विवाहित महिलाले श्रीमान्को दीर्घायुका लागि व्रत बस्ने परम्परा रहेको उनले बताइन्।
“हाम्रा आमाहरूले विगतदेखि गर्दै आएको परम्परालाई हामीले पनि निरन्तरता दिएका छौँ। प्रत्येक वर्ष व्रत बस्दै आएका छौँ। तर यस वर्ष देशमा ठूलो जनधनको क्षति भएकाले हामी दुःखी छौँ। अरू बेला जस्तो नाचगान र दर खाने कार्यक्रम पनि खासै भएको छैन,” उनले भनिन्।
तीजका अवसरमा महिलाहरूले सामूहिक पूजापाठ, भजन–कीर्तन तथा नाचगान गर्दै पर्व मनाउने गर्छन्। तर यस वर्ष देशको अवस्थालाई मध्यनजर गर्दै धेरै ठाउँमा उत्सवभन्दा प्रार्थना र संयमलाई प्राथमिकता दिइएको छ।
यसैबीच, सोमबार मधेस तथा मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व पनि मनाइएको छ। चौठ चन्द्रसमेत भनिने यो पर्वमा चन्द्रमाको पूजा गरी श्रीमान् तथा छोराछोरीको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्ने प्रचलन रहेको छ।