विराटनगर । आज हरितालिका तीज । हिन्दु नारीहरूको प्रमुख पर्व तीजको रौनक घरदेखि मन्दिरसम्म देखिएको छ । तर यस वर्ष तीजको रंग केवल घर, आँगन र मन्दिर परिसरमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा समेत उत्तिकै छरिएको छ ।
बिहानैदेखि सामाजिक सञ्जाल खोल्नेबित्तिकै रातो रंगले आँखा तान्छ । फेसबुक, टिकटक, रिल्स र इन्स्टाग्राममा रातो सारी, रातो कुर्ता–सुरुवाल, रातै चुरा र हरियो पोतेमा सजिएका महिलाका तस्वीर तथा भिडियोले सामाजिक सञ्जाल भरिएका छन् । कोही घरमै सजिएर तस्वीर खिचिरहेका छन, कोही साथीभाइ तथा परिवारसँग तीजको रमाइलो गरिरहेका छन् । कतिपय महिलाहरू भने पूजा–आराधनाका लागि मन्दिर पुगेर त्यहाँका दृश्यलाई तस्वीर र भिडियोमा कैद गर्दै सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त तथा शुभेच्छुकसँग बाँडिरहेका छन् । तीजको पहिरनमा रातो सारी, हरियो पोते र रातो चुराको संयोजनले महिलाको सौन्दर्यसँगै पर्वको सांस्कृतिक पहिचानलाई समेत झल्काइरहेको छ ।
विराटनगर १२ की सरिता थापा मगर पनि आफ्ना छिमेकी साथीहरुसँग विराटनगर १३ मा रहेको श्री मनोकामेश्वर शिवमन्दिर परिसरमा समूह बनाएर नाच्दै, गीत गाउँदै र एकअर्कासँग शुभकामना साटासाट गर्दै थिईन् । उनी जस्तै धेरै महिलाहरूले समुह — समुह बनाएर नाच्दै गरेका दृष्यहरुले तीजको रौनक थप बढाएका छन् ।

पछिल्लो समय तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ । पहिले परिवार र छिमेकीबीच सीमित हुने तीज अहिले सामाजिक सञ्जालमार्फत डिजिटल उत्सवमा परिणत हुँदै गएको छ । आफूले लगाएको पहिरन, पूजा गरेको क्षण, नाचगान र साथीभाइसँग बिताएको समयलाई महिलाहरूले तस्वीर तथा भिडियोमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
तर सामाजिक सञ्जालमा देखिएको यो रंगीन तीज केवल फेसन र रमाइलोको विषय मात्र होइन । यससँग धार्मिक आस्था, पारिवारिक सम्बन्ध, भेटघाट र सांस्कृतिक परम्परा पनि जोडिएको छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा विवाहित तथा अविवाहित महिलाहरूले व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ । विवाहित महिलाले श्रीमानको दीर्घायु, सुख–समृद्धि तथा अटल सौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिलाले योग्य वर तथा सुखी दाम्पत्य जीवनको कामना गर्ने धार्मिक विश्वास छ । तर यसपटक भने अधिकास महिलाहरुले आफ्ना श्रीमान्को आयुसँगै देशमा विपत्ति नआओस भनेर पनि भगवान शिवसँग कामना गरेको व्रतालु महिलाहरुले आवर विराटनगरलाई बताईरहेका थिए । तीजका दिन महिलाहरू विशेष गरी शिव मन्दिरमा पुगेर पूजा–आराधना गर्ने, नाचगान गर्ने र एकअर्कासँग शुभकामना आदानप्रदान गर्ने गर्छन् । यही धार्मिक आस्था र सांस्कृतिक उत्सवको दृश्य अहिले मन्दिर परिसरदेखि मोबाइलको स्क्रिनसम्म देखिन थालेको छ ।
रातो सारीमा सजिएका महिलाका तस्वीरले सामाजिक सञ्जाल रंगिएसँगै यस वर्षको तीजले फेरि एउटा सन्देश दिएको छ—परम्परा उही छ, उत्सव मनाउने माध्यम भने फेरिँदै गएको छ । मन्दिरमा बज्ने तीजका भाका हुन् वा मोबाइलमा बज्ने रिल्सका संगीत, रातो सारीमा सजिएका महिला हुन् वा डिजिटल पर्दामा देखिएका तिनै तस्वीर—तीजको रौनक विराटनगरमा सडकदेखि सामाजिक सञ्जालसम्म फैलिएको छ ।