विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिर व्यवस्थापन समितिले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । समितिले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उक्त रकमको रसिद जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई हस्तान्तरण गरेको हो ।
काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा.मीनाक्षी नेपालले विपत्तिको समयमा पीडितलाई सहयोग गर्नु मानवधर्म भएको बताइन् । सामाजिक उत्तरदायित्व वहन गर्दै बाढीपीडितको राहतका लागि कोषमा सहयोग गरिएको उनको भनाइ छ । उनले विपत्तिमा परेका नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । रकम हस्तान्तरण कार्यक्रममा काली मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो ।