गिरोहका ३७ सरुवा गरेपछि मोरङ कारागार शान्त बन्दै

<span class='c1'>गिरोहका ३७ सरुवा गरेपछि</span> <span class='c2'>मोरङ कारागार शान्त बन्दै</span>

विराटनगर । नेपाली काँग्रेसका स्थानीय नेता गुण्डानाईके टोपलिएका विराटनगर–८ का अभिषेक गिरी समूहका व्यक्तिहरुलाई हटाएपछि अहिले मोरङ कारागार शान्त बन्दै गएको छ । मोरङ कारागार विराटनगरका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहिले कारागार प्रशासनको मातहतमा नै कारागार आएको हो ।
मोरङ जिल्ला कारागारभित्र वर्षौंदेखि गुण्डागर्दी र बर्चश्वशाली श्रमशोषण गर्दै आएको थियो । कैदीबन्दीमाथिको श्रमशोषण, आर्थिक असुली र आपराधिक गतिविधिको संगठित जालो कारागार भित्रै थियो । जसलाई चलाइरहेका थिए, गिरीले ।

गत असार १३ गते गिरीले कारागारको बी ब्लकका कैदीबन्दीको सुविधा भक्ता असुलेको सूचना स्थानीय प्रशासनले पाएपछि कारागार भित्रको गिरी साम्राज्य तोड्ने बाटो खुलेको थियो । तर, गृहप्रशासन मातहत रहेको कारागार भित्रको जालो तोड्न दुई महिना भन्दा बढी लागेको छ ।
निमित्त जेलर पौडेलका अनुसार अब लगभग कारागारभित्र आपराधिक समूहको परिचालन नियन्त्रणमा आएको छ । कारागार प्रशासनसँगको समानान्तर सत्ता अन्त्य भएको छ । अपराधिक संगठित गिरोहले जेलभित्र सोझा कैदीबन्दीले पाउने भत्ता र सुविधाको रकम गायव मात्रै पारिरहेका थिएनन्, यातना दिएर धेरैमाथि ज्यादती समेत गरिरहेका थिए ।
यसबीचमा पटक–पटक कारागारभित्र खानतलासी, अनुसन्धान र सुरक्षा हस्तक्षेप गर्दै आपराधिक समूहको जालो तोड्ने गरिएको प्रयास सफल भएको मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्र बताउँछन् । जोखिम मोलेर कारागारभित्र गुण्डा नाइकेका रूपमा चिनिएका व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउँदै अराजकता सिर्जना गर्ने र अशान्ति फैलाउने ३७ जना यस अवधीमा स्थान्तरण गरिएका छन् ।

भत्कियो समानान्तर सत्ता
कारागारको नियन्त्रण प्रशासन मातहत रहनु पर्ने थियो । तर, आपराधिक गिरोहले कारागार प्रशासनसँग सामान्तर सत्ता चलाएर नियन्त्रणमा लियो । यसलाई तोड्नु गम्भीर सुरक्षा चुनौती थियो । कारागार हुँदा अपराधिक गिरोह चलाएका गिरी बाहिर बसेर समेत कारागार भित्र आफ्नो सत्ता चलाउने टिम परिचालन गरिरहेका थिए । जसका लागि कठोर यातना दिने तथा श्रमशोषणमार्फत मासिक लाखौँ रुपैयाँ असुली गर्ने गरेको आरोप लाग्दै आएको छ ।
कारागार प्रशासनको आन्तरिक नियमावलीअनुसार आन्तरिक व्यवस्थापनमा चौकीदार, नाइके र भाइ–नाइकेको महत्वपूर्ण भूमिका हुन्छ । यसले प्रशासनको प्रत्यक्ष पहुँच र हस्तक्षेप सीमित हुने अवस्था उत्पन्न गराउँछ । सुरक्षा चुनौती नभएसम्म प्रशासनका कर्मचारी सहज रूपमा कारागारको भित्री क्षेत्रमा प्रवेश नगर्ने प्रचलन छ । निमित्त जेलर पौडेलका अनुसार अहिले यहि अवस्था अनुसार कारागारको ए र बी ब्लक समान रुपमा सञ्चालन भइरहेको हो ।
जेलभित्रै कपाली तमसुक बनाएर मिटरब्याजको धन्दा चलाउने, कैदीबन्दीले श्रम गरेर पाउने पारिश्रमिक, भत्ता र सुविधाको रकममा नियन्त्रण गर्ने तथा विभिन्न आर्थिक गतिविधिबाट असुली गर्ने गरेको समेत देखिएको छ ।
आदेश नमान्ने कैदीबन्दीलाई गोप्य कोठामा लगेर ‘अनुशासन उल्लंघन’ गरेको आरोपमा यातना दिने र अवस्था गम्भीर भएपछि बिरामी भएको बहाना बनाउने गरिन्थ्यो । जसका कारण यातनाबाट कैदीबन्दीको मृत्यु भए पनि त्यसलाई सहजै स्वीकार गर्नुबाहेक विकल्प थिएन ।
कारागारभित्र उत्पादन गर्ने मुढा र गलैँचाको पारिश्रमिक, भान्सा सञ्चालन, तरकारी आपूर्ति तथा अन्य आर्थिक गतिविधिबाट समेत मासिक लाखौँ रुपैयाँ असुली गर्ने गरेको पाइएको छ । त्यसरी संकलन भएको रकम जेलभित्रका गिरोहदेखि बाहिर रहेका कथित नाइकेसम्म पुर्याइने गरेको थियो । अहिले मोरङ कारागार यातनागृहको अवस्थाबाट मुक्त हुँदै सुधारगृहका रूपमा विकास गर्न थालिएका डिएसपी मिश्र बताउँछन् ।

यसरी सुरुभयो अत्याचार विरुद्धको कारवाही
मोरङ कारागारको ‘बी’ ब्लकका ५३६ जना कैदीबन्दीलाई वितरण गरिएको प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले कुल १३ लाख ४० हजार रुपैयाँ गत असारमा गिरीसम्म आयो । पाउनुपर्ने पैसा कैदबन्दीले पाउन सकेनन् । अनुसन्धानकै क्रममा अभिषेक गिरीलाई २०८३ असार १३ गते घरबाटै पक्राउ गरियो । उनी मोरङ कारागारबाट २०७८ सालमा मानव अपहरण कसुरमा आठ वर्ष लामो सजाय भुक्तान गरी छुटेका थिए । त्यसपछि जेलबाहिर बसेर आफ्नो गिरोहमार्फत कैदीबन्दीको आर्थिक शोषण गरिरहेको आरोप लागेको थियो ।
त्यसपछि प्रशासनले गिरीसहित उनका सहयोगीका रूपमा बाहिरबाट सञ्जय मण्डल, कार्यालय सहयोगी शिवचरण यादव तथा आपूर्तिकर्ता विजय कामतलगायतमाथि अनुसन्धान अघि बढायो । उनीहरूलाई पक्राउ गरी आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा दर्ता गरियो ।
गिरी पक्राउपछि उनको समूहसँग आबद्ध व्यक्तिहरूले कारागारभित्रै ठूलो हलचल मच्चाए । सीडीओ र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्नुका साथै कारागारभित्र आगजनीको प्रयाससमेत गरिएको थियो ।
प्रशासनले गिरी समूहसँग आबद्ध खतरनाक तथा अराजक गतिविधिमा संलग्न कैदीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्ने प्रयास गरेको थियो । तर समूहले भित्री क्षेत्रमा अवरोध सिर्जना गर्दै प्रशासनलाई प्रवेश गर्न दिएन । बलपूर्वक प्रवेश गरे रक्तपात हुन सक्ने र जेलमा आगो लगाएर ध्वस्त बनाउने चेतावनी दिइयो । जेलको मूलगेटमा ताल्चा लगाएर प्रहरी प्रशासनलाई छिर्नबाट रोके । यसैले तत्काल बल प्रयोग नगरी थप रणनीति बनाएर कारागार सुधार अभियानलाई निरन्तरता दिन प्रशासन पछि हट्न बाध्य भयो।

गिरीका बफादारजति सुरुवा
कारागारभित्र गिरी समूहबाट पीडित बनेका कैदीबन्दीसँग सम्पर्क बढाउँदै थप सूचना संकलन गर्दै प्रशासनले गिरीको सत्ता अन्त्य गर्ने रणनीति बनायो । करिब दुई महिनासम्म निरन्तर अनुसन्धान र सूचनाका आधारमा प्रशासनले सशस्त्र प्रहरी बलको सहयोगमा कारागारभित्र हस्तक्षेप गर्दै खानतलासी अभियान चलायो ।
कैदीबन्दीको ‘स्क्रिनिङ’ गरेर पहिलो चरणमा गिरी समूहसँग सम्बद्ध १९ जना खतरनाक तथा अराजक गतिविधिमा संलग्न कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरियो । त्यसपछि पनि आपराधिक समूहले प्रशासनको हस्तक्षेप रोक्न अराजक गतिविधि गरिरह्यो । सोही कारण थप १८ जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो ।
दुई चरणमा ३७ जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि मोरङ कारागारको वातावरण शान्त बनेको हो । कारागारभित्रको आपराधिक जालो कमजोर भएपछि प्रशासनले पुनः जेलभित्र खानतलासी अभियान चलायो । सो क्रममा गोप्य कोठामा लुकाएर राखिएका फलामका रड बरामद गरियो । त्यस्तै, स्थानान्तरण गरिएका कैदीमध्ये एकजनाको कोठाबाट १० लाख रुपैयाँ नगदसमेत भेटियो ।

सुधार गरिने
विराटनगर–८, हाटखोलास्थित मोरङ कारागारमा ‘ए’ ब्लकमा ५६६ जना, ‘बी’ ब्लकमा ५३१ जना, महिला ब्लकमा ११४ जना तथा दुई जना आश्रित समेत छन् । कारागारभित्रको कथित आपराधिक जालो तोडिएपछि मोरङ कारागारको वातावरण अहिले शान्त बनेको बताइन्छ । पहिले गिरोहको डर र त्रासका कारण प्रशासनविरुद्ध नाराबाजी गर्ने कैदीबन्दीसमेत अहिले कारागार सुधार अभियानको प्रशंसा गर्न थालेको प्रहरी प्रशासनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्