विराटनगर । लिएको ऋण चुक्ता गर्दा ब्याजमा मिटर जोडियो भने कस्तो दुर्दशा हुन्छ भन्ने उदाहरण भएका छन्, विराटनगर–१८ कोक्साका एक परिवार । कोक्काका सुटक मण्डलले आफ्नो एक कठ्ठा एक धुर जग्गा (३५६ वर्गमिटर) राखेर २०७० सालमा ५० हजार ऋण लिएका थिए । यो साँवा ऋण बुझाउन नसक्दा मण्डल परिवारको जग्गा भने तीन पटक लिखत पास भइसकेको छ । साविक बुधनगर गाविस ५, कित्ता नम्बर ८२७ को जग्गामा घर समेत छ । यो घरमा मण्डल परिवार भने बसिरहेका छन् । २०८० साल चैत २८ गते कोक्साकै झलकीदेवी यादवले घर खाली गराईदिन भनिन् । त्यसपछि भने मण्डल परिवारको जग्गाको स्वामित्वमा समाप्त भएको थियो । तर, यसको किचलो भने अहिलेसम्म बाँकी नै रहेको छ ।
खासमा झलकीदेवी यादवले नै पहिलो पटक जग्गा लिएकी थिइनन् । उनी भन्दा अगाडी मण्डल परिवारको यो जग्गा दुई पटक किनबेच भइसकेको छ । २०७० साल बैशाख २९ गते सुटक मण्डलले शोभा नन्द मण्डललाई १२३८२ नम्बर लिखतबाट यो जग्गा धितोबन्धकी पास गरिदिएका थिए । जसबेला ५० हजार ऋण लिइएको थियो । शोभानन्द मण्डलको यो ऋण बुझाउन नसकेपछि २०७१ चैत १० गते जमूनी ठाकुरको नाममा ९२०७ नम्बरको लिखतबाट यो जग्गा पासभयो । पास हुृँदा शोभानन्दले ५० हजार दिएर चारलाख असुले । जुन चारलाख रुपैँया जमुनी ठाकुरबाट लिएपछि जग्गा पास गरिदिए । त्यसपछि जमुनी ठाकुरको चारलाख बुझाउन नसकेपछि ८ लाख ऋण पुग्यो । जुन पैसा दिएर झलकी यादवले जग्गा लिइन् । २०७४ साल भदौ ७ गते ११८० नम्बरको लिखतबाट झलकीको नाममा जग्गा जाँदा ९० हजार थैली राखिएको थियो । ऋण भने ४, ८ हुँदै १२ लाख पुग्यो । अहिले झलकीदेवी यादवको स्वामित्वमा जग्गा छ । तर, जग्गामा भने सुटक मण्डलकी श्रीमती रेनु मण्डलले घर बनाएकी छिन् । किनकी यो परिवारलाई आफ्नो जग्गा बिक्री भएको भन्ने कहिल्यै भएन । खाली ऋण बढेको छ, जग्गा उसको नाममा रहेपनि ऋण तिर्दा फिर्ता हुन्छ भन्ने लागिरहयो ।
जब झलकीदेवीले जग्गामा बनेको घरको समेत भाडा दिनुपर्ने भन्न थालेपछि अहिले परिवार बिचल्लीमा परेको रेनु बताउँछिन् । यो जग्गाको अंशियार पाँचजना रहेका छन् । जसमा निरज कुमार मण्डल, धिरज मण्डल र बुहारी पुजाकुमारी कामत हुन् । यो परिवारका अनुसार ऋण बुझाउन नसक्दा नै जग्गा अर्काको स्वामित्वमा गएको हो । त्यसैले मुलुकी देवानी संहिता २०७४ को दफा १० र ८६ ले आफ्नो हक पुग्ने भन्दै अदालतको सहारा लिन पुगे । तर, मोरङ जिल्ला अदालतले उनीहरुको विपक्षीमा फैसला गरिदियो । अदालतले विपक्षीको पक्षमा फैसला गरिदिएपछि उनीहरु भने आफ्नै जग्गा २५ लाखमा खरिद गर्ने मनसायमा पुगेका छन् । तर, विराटनगर १८ को आइसिपी नजिक रहेको जग्गाको मूल्य बढेको छ । त्यसैले अहिले फिर्ता गरिदिने अवस्था पनि छैन ।