विराटनगर । बाल दिवसको अवसरमा शान्ति युवा क्लबको आयोजनामा पूर्वाञ्चल बाल आश्रममा बालबालिकाका लागि विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा रहेका करिब ७० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको प्रतिभा प्रस्फुटन, आपसी मित्रता अभिवृद्धि तथा खुशी र उत्साह बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।




कार्यक्रममा स्पुन रेस, म्युजिकल बल, म्युजिकल झाप र रानी कबड्डी गरी चारवटा खेल सञ्चालन गरिएको थियो। प्रत्येक खेलमा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो। खेलकुदमा सहभागी बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाउँदै मनोरञ्जनसमेत गरेका थिए। कार्यक्रमले बालबालिकामा खेलप्रतिको रुचि बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ।


