सोनु साह,
विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल अन्तर्गत हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले आफ्नो स्थापनाको १० औँ वार्षिकोत्सवको अवसरमा एचपीईडी–कन २०२६ नामक राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । । राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन अन्तर्गत आयोजना हुने सम्मेलनको मुख्य नारा ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ रहेको छ। विराट मेडिकल कलेजअन्तर्गत हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट सन् २०१६ मा स्थापना भएको थियो ।
यसले दशवर्ष यता विभिन्न कार्यक्रम गर्दै आएको थियो । दशौं स्थापना दिवसको अवसर पारेर स्वास्थ्य शिक्षामा नीतिगत सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलन असोज १, २ र ३ गते हुनेछ । सम्मेलनमा मेडिकल डाक्टर, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञलगायत स्वास्थ्यसम्बन्धी विषयको अध्यापनमा संलग्न शिक्षक तथा विद्यार्थी, नीतिनिर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहभागिता रहनेछ। उनीहरूबीच स्वास्थ्य व्यवसाय शिक्षाका विविध विषयमा छलफल, अन्तरक्रिया तथा परामर्श गरिने जनाइएको छ।


सम्मेलनमा भविष्यमा स्वास्थ्य शिक्षासम्बन्धी तालिम तथा शिक्षण र सीप कस्तो हुनुपर्ने, वर्तमान पाठ्यक्रममा आवश्यक सुधार कसरी गर्ने, नेपालको स्वास्थ्य शिक्षा प्रणालीलाई समयसापेक्ष र विश्वव्यापी मापदण्डअनुकूल कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति तथा गहन छलफल हुने आयोजक एवं संयोजक प्रा. डा. हेमसागर रिमालले जानकारी दिएक छन ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवालाले महसुस गरेका चुनौती तथा समस्यालाई सम्बोधन गर्दै गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा जनतासम्म पुर्याउन नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणाका रूपमा रहेको दक्षतामा आधारित चिकित्सा शिक्षा को कार्यान्वयन, चुनौती तथा प्रभावबारे समेत सम्मेलनमा विस्तृत छलफल हुने बताएको छ। सम्मेलनले नेपालको स्वास्थ्य व्यवसाय शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि नयाँ दिशा र मार्गदर्शन प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।

सम्मेलनमा नेपाल, भारत, श्रीलंका र बेलायत लगायत देशबाट ३०० भन्दा बढी वरिष्ठ स्वास्थ्य शिक्षाविद् तथा स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रम उदघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमत कार्की गर्न छ । यो कार्यक्रममा ३० वटा कार्यपत्र प्रस्तुत हुनेछन् । जसमा चारवटा विदेशी विज्ञहरुको रहने छ । त्यस बाहेक नेपालमा चिकित्सा तथा स्वास्थ्य शिक्षा नीतिका विज्ञहरुले समेत कार्यपत्र प्रस्तुत गर्नेछन् ।