विराटनगर । श्री श्री १०८ गणेश पूजा समिति २०८३ विराटनगर–१५ ले गणेश चतुर्थी अवसरमा भव्य सांस्कृतिक तथा भजन संगीत कार्यक्रम आयोजना गरेको छ ।
विराटनगर–१५ स्थित हरिनगरा भट्टामा गणेश भगवानको मूर्ति स्थापना गरी तीन दिनसम्म स्थानीयवासी तथा भक्तजनले विधिपूर्वक पूजापाठ गरेका थिए । सोही अवसरमा आयोजक समितिले बुधबार साँझ भारतीय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक तथा भजन संगीत कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा भारतीय कलाकारहरूले विभिन्न देवीदेवताका स्वरूपमा सजिएर आकर्षक नाट्य तथा सांगीतिक प्रस्तुति दिएका थिए । फरक शैलीका धार्मिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी अतिथि तथा दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।


त्यसैगरी स्थानीय महिलाहरूले मैथिली संस्कृतिमा आधारित झिझिया नृत्य प्रस्तुत गरेका थिए । नृत्य तथा सांगीतिक प्रस्तुतिमा दर्शकले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रमकै अवसरमा पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील विराटनगरका ६ जना सञ्चारकर्मीहरूलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो ।
श्री श्री १०८ गणेश पूजा समिति विराटनगर–१५ ले विगत २० वर्षदेखि सो क्षेत्रमा धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष गणेश चतुर्थीका अवसरमा गणेश भगवानको पूजा तथा विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रम गर्दै आएको जनाएको छ ।