विराटनगरमा सिटी सफारीको संख्या आवश्यकताभन्दा चार गुणा बढी, ट्राफिक व्यवस्थापनमा चुनौती

<span class='c1'>विराटनगरमा सिटी सफारीको संख्या आवश्यकताभन्दा चार</span> <span class='c2'>गुणा बढी, ट्राफिक व्यवस्थापनमा चुनौती</span>

सोनु साह,
विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ। बजार क्षेत्रका मुख्य सडकमा ठूलो संख्यामा सिटी सफारी सञ्चालन हुँदा सडकमा भीड बढ्नुका साथै अन्य सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको छ।

विराटनगरमा दैनिक रूपमा हजारौँ सवारीसाधन सञ्चालन हुने गरेका छन्। त्यसमध्ये सिटी सफारीको संख्या अत्यधिक बढेकाले बजार क्षेत्रका सडकमा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार विराटनगर क्षेत्रमा हाल करिब १२ हजार सिटी सफारी सञ्चालनमा छन्। जबकि विराटनगर सहरको सडक संरचना र व्यवस्थापनको क्षमताअनुसार करिब ३ हजार सिटी सफारी पर्याप्त हुने अवस्था रहेको बताइएको छ।

सिटी सफारी सहज रूपमा खरिद गर्न सकिने तथा भाडामा समेत उपलब्ध हुने भएकाले पछिल्लो समय यसको संख्या तीव्र रूपमा बढेको न्यौपानेको भनाइ छ। उनका अनुसार अहिले विराटनगर क्षेत्रमा दैनिक करिब १० देखि १५ वटा सिटी सफारी किनबेच हुने गरेको छ।

सिटी सफारीको संख्या बढ्दै गए पनि त्यसअनुसार ट्राफिक व्यवस्थापनका लागि आवश्यक जनशक्ति र स्रोतसाधन भने सीमित रहेको ट्राफिक प्रहरीले जनाएको छ। विराटनगर क्षेत्रमा हाल ५२ जना ट्राफिक प्रहरी मात्रै कार्यरत रहेको न्यौपानेले बताए।

‘१२ हजारभन्दा बढी सिटी सफारीसहित अन्य सवारीसाधन र पैदलयात्रीलाई समेत सडकमा सुरक्षित आवागमन गराउनुपर्ने अवस्था छ,’ न्यौपानेले भने, ‘त्यसैले सिटी सफारीको नयाँ दर्तालाई तत्काल रोक लगाउनुपर्ने देखिन्छ।’

ट्राफिक प्रहरीले सिटी सफारीको संख्या नियन्त्रणसँगै चालकको सुरक्षालाई समेत प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी दर्ता भएका चालकलाई कोड नम्बर उल्लेख भएको ज्याकेट उपलब्ध गराइने गरिएको छ। यस्तो ज्याकेट लगाएका चालकलाई ट्राफिक प्रहरीले सुरक्षित चालकका रूपमा पहिचान गर्ने गरेको छ।

न्यौपानेका अनुसार विराटनगरमा सञ्चालनमा रहेका करिब १२ हजार सिटी सफारीमध्ये हालसम्म करिब २ हजार २ सय चालकले मात्रै आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित चालकका रूपमा दर्ता भएका छन्। प्रक्रिया पूरा नगरी सिटी सफारी सञ्चालन गर्ने चालकलाई कारबाहीसमेत गर्न थालिएको उनले बताए।

बजार क्षेत्रमा सिटी सफारीको अत्यधिक भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको प्रहरीको भनाइ छ। सीमित जनशक्तिका कारण सबै सवारीसाधनको प्रभावकारी निगरानी तथा व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।

ट्राफिक प्रमुख न्यौपानेले सर्वसाधारणलाई सिटी सफारी चढ्दा चालकको पहिचान र सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्। उनले जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट जारी गरिएको कोड नम्बर सहितको ज्याकेट नलगाएका चालकले चलाएको सिटी सफारीमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

सिटी सफारीको संख्या नियन्त्रण, चालकको दर्ता प्रक्रिया प्रभावकारी बनाउने तथा सडक पूर्वाधारअनुसार सवारी व्यवस्थापन गर्न सके विराटनगरको ट्राफिक समस्या न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्