विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट रसुवागढीका बाढीपीडितका लागि २०० बोरा राहत सामग्री पठाइने भएको छ। जहदा गाउँपालिकावासीको सहयोग र स्थानीय युवाको पहलमा संकलन तथा व्यवस्थापन गरिएको राहत सामग्री शुक्रबार बेलुका ७ बजे जहदा–५ स्थित लक्ष्मिनिया चोकबाट रसुवागढीतर्फ पठाइनेछ।


प्रत्येक बोरामा करिब २५ केजी राहत सामग्री रहेको छ। राहत बोरामा चामल, दाल, नुन, चिउरा, भुजा, आलु, खाने तेल, चाउचाउ, साबुन, स्याम्पु, सेनेटरी प्याडलगायत आवश्यक सामग्री समावेश गरिएको छ। बालबालिकाका लागि आवश्यक कपडासमेत राखिएको जनाइएको छ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। आयोजकले राहत संकलन तथा व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्ण जहदावासीप्रति आभार व्यक्त गर्दै यो अभियान सामूहिक सहयोग र मानवीय भावनाको परिणाम भएको जनाएको छ।