विराटनगर । संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ। संविधान दिवसका अवसरमा विराटनगरको सहिद रंगशालाबाट प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको हो।

कोशी प्रदेश सरकारको आह्वानमा बिहान सहिद रंगशाला परिसरबाहिर विभिन्न क्षेत्रका व्यक्तिहरू भेला भएका थिए। त्यसपछि विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो।

प्रभातफेरीमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विभिन्न समुदायले आफ्ना मौलिक संस्कृति, भेषभूषा र परम्परा झल्काउने झाँकी प्रस्तुत गरेका थिए। रंगीचंगी पोसाकमा सजिएका सहभागी, सांस्कृतिक प्रस्तुति र बाजागाजाले विराटनगरको वातावरण उत्सवमय बनेको थियो।

प्रभातफेरीमा कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा सरकारी कार्यालयका कर्मचारी, वित्तीय तथा निजी क्षेत्रका प्रतिनिधि, खेलकुद क्षेत्रका पदाधिकारी तथा खेलाडी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

प्रभातफेरी सहिद रंगशालामा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान दिवसको अवसरमा सम्बोधन गरेका थिए।

संविधान दिवसकै अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडी तथा सांस्कृतिक झाँकी प्रदर्शनमा उत्कृष्ट हुने टोलीलाई कार्यक्रममा पुरस्कार तथा सम्मान गरिएको थियो।

यसरी विविध जातजाति, समुदाय, पेशा तथा क्षेत्रको सहभागिताले विराटनगरमा संविधान दिवसलाई उत्सवमय बनाएको थियो।













तस्वीर : सुरन्जन लिम्बु / आवर विराटनगर




तस्वीर : सुरन्जन लिम्बु / आवर विराटनगर