सोनु साह,
विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या निरन्तर बढ्दै गएपछि ट्राफिक तथा सडक व्यवस्थापनमा चुनौती थपिएको छ । विराटनगर क्षेत्रमा हाल १२ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा रहेको बताइएको छ । दैनिक १० देखि १५ वटासम्म नयाँ सिटी सफारी थपिने गरेको जनाइएको छ । सिटी सफारीको संख्या बढ्दै जाँदा विराटनगरको सडकमा सवारी चाप तथा भीड व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई थप कठिनाइ भइरहेको छ । सीमित जनशक्ति र स्रोतसाधनका बीच ठूलो संख्यामा रहेका सिटी सफारीलाई व्यवस्थित गर्नु चुनौतीपूर्ण बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार सिटी सफारीलाई सुरक्षित र व्यवस्थित बनाउनु ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी हो । उनले व्यवस्थापनका क्रममा विभिन्न चुनौती रहे पनि ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका लागि चालक तथा सर्वसाधारणको समेत सहयोग आवश्यक रहेको बताए ।
उनका अनुसार सिटी सफारीलाई व्यवस्थित र यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले ‘सुरक्षित चालक’ अवधारणा अघि सारिएको छ । यसअन्तर्गत कानुनी प्रक्रिया पूरा गरेका तथा लाइसेन्स प्राप्त सिटी सफारी चालकलाई कोड नम्बर सहितको ज्याकेट उपलब्ध गराइएको छ । विराटनगरमा १२ हजारभन्दा बढी सिटी सफारी सञ्चालनमा रहे पनि हालसम्म २ हजार २ जना चालकले आवश्यक कानुनी प्रक्रिया पूरा गरी ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट प्राप्त गरेका छन् ।
ट्राफिक प्रहरीले ज्याकेटमा कोड नम्बर भएको ‘सुरक्षित चालक’ लेखिएको सिटी सफारीमा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । ज्याकेट नलगाएका वा कोड नम्बर नभएका सिटी सफारीमा यात्रा गर्दा सुरक्षा जोखिम हुन सक्ने भन्दै यात्रु सचेत हुनुपर्ने प्रहरीले जनाएको छ । प्रमुख न्यौपानेले सिटी सफारी चलाउने चालकको उमेर र लाइसेन्सको अवस्थासमेत महत्वपूर्ण रहेको बताए । विराटनगरमा बालबालिकादेखि कानुनले तोकेको उमेर नपुगेका व्यक्तिसमेत सिटी सफारी चलाउने गरेको तथा कतिपय चालकसँग लाइसेन्ससमेत नरहेको गुनासो आउने गरेको उनले बताए । यस्तो अवस्थामा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यात्रुले चालकको अवस्था बुझेर मात्र सिटी सफारी प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
ट्राफिक प्रहरीले ‘सुरक्षित चालक’को पहिचान भएको सिटी सफारी प्रयोग गर्न र सुरक्षित सडक व्यवस्थापनमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै विराटनगरको बढ्दो सिटी सफारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी, चालक, व्यवसायी तथा यात्रुसहित सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।