विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन चलिरहेका बेला मोरङमा पनि वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ। मोरङमा असोज ५ गतेदेखि सुरु भएको वडा अधिवेशन आज सम्पन्न हुँदैछ। मोरङ क्षेत्र नं. ६ का केही वडामा देखिएको आन्तरिक विवाद छलफलमार्फत समाधान गरेपछि आज बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले जानकारी दिए।
उनका अनुसार मोरङका अन्य निर्वाचन क्षेत्रमा वडा अधिवेशन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ। क्षेत्र नं. ६ का केही वडामा सामान्य राजनीतिक असमझदारीका कारण अधिवेशन प्रक्रिया प्रभावित भए पनि छलफलपछि समाधान गरेर आज निर्वाचन प्रक्रिया अघि बढाइएको उनले बताए।
क्षेत्र नं. ६ का सम्बन्धित वडाको निर्वाचन सम्पन्न भएसँगै मोरङ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न हुने कार्कीको भनाइ छ। वडा अधिवेशनपछि कांग्रेसले नगर तथा पालिका तहको अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। कार्कीका अनुसार असोज ९ गतेदेखि नगरस्तरीय अधिवेशनको प्रक्रिया सुरु गरिनेछ।