विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति आएपछि काठमाडौं बाहिर पहिलो औद्योगिक नगरी विराटनगरमा पहिलो बैठक सम्पन्न भएको हो ।
उद्योग संगठन मोरङमा सम्पन्न बैठकमा कोशी प्रदेशका उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्या, मन्दीका चुनौती तथा समाधानका नीतिगत उपायहरूबारे विस्तृत छलफल भएको थियो । साथै, उद्योग क्षेत्रको दिगो विकासका लागि स्थानीय स्तरमा सञ्चालन गरिएका नवप्रवर्तनात्मक अभ्यासहरूको समेत उच्च समीक्षा गरिएको छ। सभापति श्रेष्ठका अनुसार स्थानीय उत्पादनलाई सिधै डिजिटल बजारसँग जोड्ने ‘विराटबजार डटकम’, उद्योगी–व्यवसायीका प्राविधिक तथा व्यवस्थापकीय उल्झन सुल्झाउन परामर्श दिने ‘बिजनेस क्लिनिक’, औद्योगिक उत्पादन र प्रविधिलाई प्रत्यक्ष प्रदर्शन गर्ने ‘इन्डष्ट्रिज एक्सपिरियन्स जोन’ र नयाँ व्यावसायिक सोचलाई उद्यममा बदल्ने ‘बिजनेस इन्क्युबेसन सेन्टर’ जस्ता संरचनाहरू अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूका लागिसमेत अनुकरणीय मोडेल बनेका छन्।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले काठमाडौं बाहिर आएर उद्योगीका समस्या प्रत्यक्ष सुन्ने महासंघको अभ्यासले निजी क्षेत्रको वास्तविक अवस्थालाई राष्ट्रिय नीतिगत बहसमा जोड्न सघाउ पुर्याउने बताएका छन् । महासंघले उद्योग–व्यवसाय क्षेत्रका समस्यालाई सरकारसमक्ष प्रस्तुत गर्दा परम्परागत गुनासोको शैलीभन्दा माथि उठेर तथ्य, तथ्यांक, अनुसन्धान र समाधानका विकल्पसहित लैजानुपर्नेमा उहाँले जोड दिएका थिए ।
अध्यक्ष राठीले उद्योग क्षेत्र हाल न्यून बजार माग र चर्को उत्पादन लागतजस्ता चौतर्फी दबाबमा परेको उल्लेख गर्दै औद्योगिक वातावरण सुधारका लागि सरकार र निजी क्षेत्रबीच परिणाममुखी संवाद तथा नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजारमा मागको चरम अभाव, घट्दो लगानी, व्यवसायीहरूको खस्कँदो मनोबल तथा कमजोर पूर्वाधार अहिलेको मुख्य चुनौती रहेको औल्याएका थिए । राउत निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका थिए ।