विराटनगर । विराटनगरमा कोठा भाडामा लिएर बस्दै आएका तीन जना युवक ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत रहेका छन् । विराटनगर महानगरपालिका–११ स्थित वेचन मेहताको घरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरू बसेको कोठामा पुगेको टोलीले खानतलासी गर्दा १०१.५३० ग्राम खैरो हेरोइन बरामद गरेको हो । प्रहरीले उक्त लागुऔषध साबुन राख्ने डब्बामा लुकाएर राखिएको अवस्थामा फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला नरपतगञ्जका २३ वर्षीय रिजवान अहमद इदरीशी, सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय आरविन्द यादव र सोही स्थानका २३ वर्षीय अनिल यादव रहेका छन् ।
बरामद गरिएको लागुऔषधलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै लाहा छाप लगाएर शिलबन्दी गरेको छ ।
घटनासँग सम्बन्धित थप प्रमाण तथा कारोबारको उद्देश्यबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । प्रहरीका अनुसार १०० ग्रामभन्दा माथि खैरो हेरोइनको कारोबार गरेको प्रमाणित भएमा लागुऔषधसम्बन्धी प्रचलित कानुनअनुसार १५ देखि २० वर्षसम्म कैद र ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यस घटनामा बरामद भएको १०१.५३० ग्राम खैरो हेरोइनको स्रोत, सम्भावित कारोबारको सञ्जाल तथा पक्राउ परेकाहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।