विराटनगर, असोज २५ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ । बाढीले घर तथा टहराहरूमा समेत क्षति पुर्याएको छ भने दर्जनौँ घर जोखिममा परेका छन् ।
गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो ।
नेपाल प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबासतर्फ जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५ देखि ७ वटा घर र त्यति नै संख्यामा रहेका टहराहरू प्रभावित भएका छन् ।
बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको प्रहरीले जनाएको छ । यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ ।
बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ । प्रभावित क्षेत्रको थप अवस्था र सम्भावित जोखिमबारे सम्बन्धित निकायले निगरानी गरिरहेका छन् ।