सोनु साह
विराटनगर । नेपालीहरूको महान् पर्व बडादशैँको पहिलो दिन घटस्थापनाको अवसरमा विराटनगरको ऐतिहासिक काली मन्दिरमा १५० केजी जौको जमरा राखिएको छ। घटस्थापनासँगै विराटनगरका प्रमुख मन्दिर तथा नवदुर्गाको पूजा हुने विभिन्न स्थायी र अस्थायी पूजास्थलमा जमरा राखेर पूजा आरम्भ गरिएको छ।
विराटनगरका वडा नं. १२, दुर्गा चोक, महेन्द्र चोकलगायत अधिकांश स्थानमा पण्डाल निर्माण गरी नवदुर्गा तथा अन्य देवीदेवताको प्रतिमा स्थापना गरेर पूजा गर्ने परम्परा छ। त्यस्तै, रंगेलीस्थित संसारी माई मन्दिरमा पनि आजै जमरा राखेर पूजापाठ सुरु गरिएको छ। विराटनगरको ऐतिहासिक काली मन्दिरका मुख्य पुजारी हरिविष्णु दाहालका अनुसार शुभमुहूर्त हेरेर जमरा राखिएको हो। सामाजिक सञ्जालमा बिहानदेखि जमरा राख्ने विषयमा विभिन्न भ्रमपूर्ण सूचना फैलिएको उल्लेख गर्दै उनले आज जमरा नराखिने भन्ने कुरा गलत रहेको स्पष्ट पारे।
उनका अनुसार घटस्थापनादेखि काली मन्दिरमा नियमित पूजापाठ सुरु भएको छ। मन्दिरमा बिहान र बेलुका आरतीका साथै साँझको समयमा भक्तिगीत, सङ्गीत र झाँकी–कीर्तनलगायत कार्यक्रम सञ्चालन हुनेछन्। मन्दिरमा भक्तजनको भीड बढ्न सक्ने भएकाले पुजारी दाहालले बहुमूल्य वस्तु तथा गरगहना लगाएर नआउन र आफ्नो सामानको सुरक्षामा ध्यान दिन भक्तजनलाई आग्रह गरेका छन्।
त्यस्तै, रंगेलीको संसारी माई मन्दिरमा पनि जमरा राखेर विधिपूर्वक पूजाआजा सुरु गरिएको छ। यस वर्ष अष्टमी दुई दिन परेको हुँदा ११ दिनसम्म पूजा सञ्चालन हुने पुजारीले जानकारी दिएका छन्। घटस्थापनालाई बडादशैँको औपचारिक सुरुवातका रूपमा लिइन्छ। यस दिन घरघरमा तथा मन्दिरहरूमा विधिपूर्वक जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ। घटस्थापनासँगै विराटनगर तथा आसपासका क्षेत्रमा दशैँको धार्मिक र सांस्कृतिक चहलपहल बढ्न थालेको छ।